कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिक गर्न आयोगमा निवेदन

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिक गर्न आयोगमा निवेदन

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ।

बिहीबार निर्वाचन आयोग पुगेर सभापति थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दलको अद्यावधिक विवरण हस्तान्तरण गरे।

विशेष महाधिवेशनपछि ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय समिति बैठकको निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा, नवनियुक्त प्रवक्ता देवराज चालिसेसहित कानुनविद्हरूको टोली आयोग पुगेको थियो।

पहिलो केन्द्रीय समिति बैठकले कांग्रेसको आधिकारिक निर्णय र पत्रहरूमा निवर्तमान सभापति शेरबहादुर देउवाको नाम र हस्ताक्षर हटाएर नवनिर्वाचित सभापति गगन थापाको हस्ताक्षर कायम गर्ने निर्णय गरेको छ। सोही निर्णयका आधारमा उम्मेदवारहरूको मनोनयनका लागि हस्ताक्षर परिवर्तन, समानुपातिक सूचीको संशोधन र अन्य कानुनी प्रक्रिया पूरा गर्न आयोगलाई आग्रह गरिएको छ।

आयोगमा विवरण बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले आगामी माघ ६ गते प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताको समय रहेकाले त्यस अगावै आयोगले विवरण अद्यावधिक गर्नेमा विश्वास व्यक्त गरे। थापाले भने, "अद्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौं। नयाँ कार्यसमिति गठनबारे पुष्टि हुने सबै कागजात बुझाएका छौं।"  

हेर्नुहोस् आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा पुगेका नेता कार्यकर्तासहितका तस्बिरहरू:

माघ १, २०८२ बिहीबार १५:४४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।