कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगनलाई, विश्वप्रकाशको नेतृत्वमा चुनाव परिचालन समिति
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ कार्यसमितिको पहिलो बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तयारी अगाडि बढाउने निर्णय गरेको छ।
बिहीबार काठमाडौंमा बसेको थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको निर्वाचन घोषणापत्र लेखनको लागि समिति गठन गरेको छ। थापालाई नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
यसैगरी, निर्वाचन परिचालन समितिको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले सम्हाल्ने गरी निर्णय भएको छ। बैठकले विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको विवरण अद्यावधिक गर्न र समानुपातिक उम्मेदवारहरूको सूची संशोधन गर्न तत्काल निर्वाचन आयोग जाने निर्णय समेत गरेको छ।
यता, कांग्रेसको शेरबहादुर देउवा पक्षले भने गगन थापा पक्षको कदमलाई पार्टी विधान विपरीत र अनुशासनहीन कार्यको संज्ञा दिएको छ। बुधबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नीति विपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा फरमुल्लाह मन्सुरलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो।
माघ १, २०८२ बिहीबार १४:३१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।