टिकटक फिफाको प्रथम रुचाइएको प्लेटफर्म, २०२६ को विश्वकपमा फ्यानहरूलाई विशेष अनुभव दिने
काठमाडौं : फिफा र लोकप्रिय भिडियो सेयरिङ एप टिकटकबीच ऐतिहासिक सम्झौता भएको छ।
यस सम्झौतासँगै टिकटक फिफाको ‘प्रथम रुचाइएको प्लेटफर्म’ बनेको छ। यो साझेदारीले फिफा विश्वकप २०२६ को डिजिटल कभरेजलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। यो साझेदारी सन् २०२६ को अन्त्यसम्म कायम रहनेछ।
टिकटकले लाइभ खेलबाहेक ‘बिहाइन्ड-द-सीन’ , खेलाडीहरूको तालिम, र प्रेस कन्फरेन्स जस्ता विशेष सामग्रीहरूमा पहुँच प्रदान गर्नेछ।
टिकटकमा टिकटक गेमप्लानद्वारा सञ्चालित ‘इमर्शिभ फिफा विश्वकप २०२६ हब’ हुनेछ, जहाँ ४८ टिम सहभागी प्रतियोगिताको रोचक सामग्री, टिकट तथा प्रसारण जानकारी, र कस्टम स्टिकर तथा फिल्टरहरू उपलब्ध हुनेछन्।
पहिलो पटक व्यवस्थित विश्वव्यापी क्रिएटर कार्यक्रम सुरु हुनेछ, जसअन्तर्गत छनोट भएका क्रिएटरहरूले फिफाका ऐतिहासिक फुटेज प्रयोग गर्न र विशेष पहुँच पाउनेछन्।
फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले यो सहकार्यले विश्वभरका समर्थकहरूलाई विश्वकपसँग अभूतपूर्व रूपमा जोड्ने बताए। यस्तै, टिकटकका ग्लोबल हेड अफ कन्टेन्ट जेम्स स्टाफोर्डले ९० मिनेटको खेलभन्दा बाहिरको विशेष अनुभव फ्यानहरूलाई प्रदान गर्न पाउँदा उत्साहित भएको बताए।
यसअघि फिफा महिला विश्वकप २०२३ मा पनि यी दुईबीच सफल सहकार्य भएको थियो, जसले डिजिटल प्लेटफर्ममा अर्बौं भ्युज बटुल्न सफल भएको थियो।
माघ १, २०८२ बिहीबार १२:४०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।