बंगलादेश क्रिकेट बोर्डका निर्देशकलाई दिउँसो १ बजेसम्म राजीनामा दिन अल्टिमेटम
एजेन्सी : क्रिकेटर्स वेलफेयर एसोसिएसन अफ बंगलादेशले बंगलादेश क्रिकेट बोर्डका निर्देशक एम नजमुल इस्लामलाई पदबाट राजीनामा दिन बिहीबार दिउँसो १ बजेसम्मको अल्टिमेटम दिएको छ।
यदि उनले तोकिएको समयभित्र राजीनामा नदिए खेलाडीहरूले क्रिकेटका सबै फर्म्याट बहिष्कार गर्ने चेतावनी दिएका छन्। अल्टिमेटमअनुसार बिहीबार दिउँसो १ बजे सुरु हुने बंगलादेश प्रिमियर लिगको खेलअघि नै नजमुलले पद छोड्नुपर्नेछ।
निर्देशक नजमुलले सिनियर क्रिकेटर तमिम इकबाललाई ‘भारतीय एजेन्ट’ भनी टिप्पणी गरेपछि विवाद चर्किएको हो।
तमिमले इन्डियन प्रिमियर लिगको टोली कोलकाता नाइट राइडर्सबाट मुस्तफिजुर रहमानलाई रिलिज गरिएको विषयमा भारत र बंगलादेशबीचको क्रिकेट सम्बन्ध सुधार्न वार्ताको आह्वान गरेका थिए। सोही विषयलाई लिएर नजमुलले तमिमको मजाक उडाएका थिए।
बीसीबीले निर्देशक नजमुलको उक्त अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ। बोर्डले एक विज्ञप्ति जारी गर्दै उक्त टिप्पणी बोर्डको आधिकारिक धारणा नभएको स्पष्ट पारेको छ।
साथै, खेलाडीको अपमान गर्ने वा बंगलादेश क्रिकेटको प्रतिष्ठामा आँच पुर्याउने कार्यमा संलग्न जो कोहीलाई अनुशासनको कारबाही गर्ने चेतावनी पनि बोर्डले दिएको छ।
यसैबीच, बंगलादेशको टोली सन् २०२६ को टी-२० विश्वकपका लागि भारत आउने विषय अझै अनिश्चित छ।
खेलाडीहरूको सुरक्षाको कारण देखाउँदै बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग आफ्ना खेलहरू भारतबाहिर गराउन अनुरोध गरेको थियो। यद्यपि, आईसीसीले भेन्यु (खेलस्थल) परिवर्तन गर्ने बीसीबीको माग अस्वीकार गरिसकेको छ।
यो सम्पूर्ण विवाद तब उत्कर्षमा पुग्यो जब बीसीसीआईले बंगलादेशमा भइरहेका हिन्दु विरोधी गतिविधिहरूको विरोध स्वरूप केकेआरलाई मुस्तफिजुरलाई टिमबाट हटाउन निर्देशन दियो।
माघ १, २०८२ बिहीबार ११:२३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।