कतारमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन चेतावनी, सैनिक हटाउँदै अमेरिका र बेलायत

कतारमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन चेतावनी, सैनिक हटाउँदै अमेरिका र बेलायत

एजेन्सी : कतारस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारी तथा कतारमा रहेका अमेरिकी नागरिकहरूका लागि विशेष ‘ट्राभल एडभाइजरी’जारी गरेको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकाले यो कदम चालेको हो।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकी दूतावासले आफ्ना कर्मचारीहरूलाई अतिरिक्त सतर्कता अपनाउन र अल-उदैद एयरबेसमा अत्यावश्यक बाहेकको यात्रा सीमित गर्न सल्लाह दिएको छ।’

दूतावासले कतारमा बस्ने अमेरिकी नागरिकहरूलाई पनि सोही बमोजिमको सावधानी अपनाउन आग्रह गर्दै स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ।

यसैबीच, समाचार एजेन्सी रोयटर्सले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै अमेरिकाले कतारको अल-उदैद एयर बेसबाट आफ्ना केही सैनिकहरूलाई बुधबार साँझसम्म हट्न सुझाव दिएको उल्लेख गरेको छ।

बीबीसीका अमेरिकी सहयोगी च्यानल सीबीएससँग कुरा गर्दै अमेरिकी अधिकारीहरूले सैनिकहरूको यो आंशिक फिर्तीलाई सावधानीको उपाय बताएका छन्। बीबीसीलाई प्राप्त जानकारी अनुसार कतारबाट केही बेलायती सैनिकहरूलाई पनि फिर्ता बोलाउने तयारी भइरहेको छ।

इरानमा गत डिसेम्बर २८ देखि सत्ता विरोधी प्रदर्शनहरू जारी छन्। महँगी र बिग्रँदो आर्थिक अवस्थाका कारण सुरु भएको प्रदर्शन अहिले हिंसात्मक बनेको छ।

मानव अधिकारवादी संगठनहरूले यी प्रदर्शनहरूमा हजारौँ मानिस मारिएको दाबी गरेका छन्। यसैको प्रभावस्वरुप अमेरिकाले यो सतर्कता अपनाएको विश्लेषण गरिएको छ।

माघ १, २०८२ बिहीबार १०:४५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।