ग्रीनल्यान्डको विषयमा अमेरिकासँग डेनमार्कको असहमति : ट्रम्पको प्रस्ताव ठाडै अस्वीकार, थप सैन्य अखडा राख्न भने लचिलो
एजेन्सी : डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले ग्रीनल्यान्डको विषयलाई लिएर अमेरिकासँग आफ्नो देशको मौलिक असहमति रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा बुधबार भएको उच्चस्तरीय वार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। बैठकमा ग्रीनल्यान्डकी विदेशमन्त्री विवियन मत्जफेल्ड पनि सहभागी थिइन्।
विदेशमन्त्री रासमुसेनका अनुसार, अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रूबियोसँग उनको खुला कुराकानी भयो र बैठक रचनात्मक रह्यो।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको नियन्त्रणमा लिन जोड दिइरहेको विषय भने आफूहरूलाई पूर्ण रूपमा अस्वीकार्य रहेको रासमुसेनले बताए।
उनले भने, ‘हामीले यो स्पष्ट पारिसकेका छौँ कि यो प्रस्ताव डेनमार्कको हितमा छैन।’
उच्चस्तरीय कार्यदल गठन गरिने
अमेरिका, डेनमार्क र ग्रीनल्यान्डबीच करिब एक घण्टा चलेको बैठकबाट तत्काल कुनै ठोस नतिजा ननिस्किए पनि तीनै पक्ष एउटा विषयमा सहमत भएका छन्। ग्रीनल्यान्डको भविष्यबारे थप छलफल गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिनेछ।
रासमुसेनले अमेरिकाले पार गर्न नमिल्ने केही सीमाहरू रहेको बताउँदै सम्झौताको प्रयासका लागि आगामी हप्ताहरूमा कार्यदलको बैठक बस्ने जानकारी दिए।
ग्रीनल्यान्ड बेच्न वा अमेरिकालाई सुम्पन अस्वीकार गरे पनि डेनमार्क र ग्रीनल्यान्ड त्यहाँ थप अमेरिकी सैन्य अखडाहरू बनाउने विषयमा भने लचिलो देखिएका छन्। रासमुसेनले यस सम्भावनाका लागि आफूहरू तयार रहेको सङ्केत गरे।
के हो विवाद?
ग्रीनल्यान्ड डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र हो। अमेरिकी राष्ट्रपति ट्रम्पले विगत केही दिनदेखि ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्न दबाब दिँदै आएका छन्। यदि ग्रीनल्यान्ड अमेरिकामा सामेल नभए त्यसमा रुस र चीनले कब्जा जमाउन सक्ने ट्रम्पको तर्क छ।
तर, ग्रीनल्यान्ड र डेनमार्कले ट्रम्पको यो अडानको कडा विरोध गरेका छन्। यस मुद्दामा युरोपका केही देशहरूले पनि डेनमार्कलाई समर्थन जनाएका छन्।
माघ १, २०८२ बिहीबार ०८:०३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।