आज मकर सङ्क्रान्ति : स्नान, दान र खानपान गरी देशभर मनाइँदै
काठमाडौं : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने विशेष दिनका रूपमा आज देशभर मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदैछ। आजदेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ।
धर्मशास्त्रअनुसार उत्तरायणको समयलाई शुभ कार्यका लागि उत्तम मानिन्छ। आजका दिन स्नान, जप, तप, ध्यान, र दान गर्नाले पुण्य प्राप्त हुने जनविश्वास छ।
महाभारतमा भीष्म पितामहले इच्छा मृत्युको वरदान पाए पनि सूर्य उत्तरायण भएपछि मात्र शरीर त्याग गरेको प्रसंगले पनि यसको महत्व दर्शाउँछ।
पर्वको अवसरमा आज बिहानैदेखि देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका पवित्र नदी तथा घाटहरूमा मकर स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ।
तराईमा मैथिली र थारु समुदायले आजको दिनलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा विशेष महत्वका साथ मनाउने गर्छन्। भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि आज विशेष मेला लाग्ने गर्दछ।
धर्मसिन्धुमा उल्लेख भएअनुसार माघ १ गते स्नान, दान र व्रत नबस्ने मानिस जीवनभर रोगी हुनसक्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन्। आजको दिन तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य मिल्ने धार्मिक विश्वास छ।
यस पर्वमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने चलन छ। जाडो मौसममा शरीरलाई न्यानो प्रदान गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन यी परिकारहरू उपयोगी मानिन्छन्।
आयुर्वेदका अनुसार यी खानाले शरीरका त्रिदोष नाश गर्छन्। साथै, आज शरीरमा तिलको तेल मालिस गर्दा स्नायुमण्डल र हड्डी सुदृढ हुने तथा शरीरका दूषित पदार्थ बाहिर निस्कने विश्वास गरिन्छ।
लोकउखान ‘पुसमा पाके, माघमा जाके’ अनुसार पुसको अन्तिम दिन पकाएको तरुल माघको पहिलो दिन खाने चलन पनि विभिन्न समुदायमा व्याप्त छ।
माघ महिना सुरु भएसँगै ‘माघ माहात्म्य’ र श्री स्वस्थानी व्रतकथाको क्रम पनि तीव्रता पाउँछ। पौष शुक्ल पूर्णिमा देखि सुरु भएको स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमासम्म चल्नेछ। यो महिनाभर मध्याह्नकालमा महादेवको पूजा गर्ने र माघ स्नान गर्ने परम्परा रहिआएको छ।
माघे सङ्क्रान्तिमा तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको अत्यधिक उपभोग हुने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आजको दिनलाई ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ का रूपमा समेत मनाउने गरेको छ।
माघ १, २०८२ बिहीबार ०७:४४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।