कांग्रेस संस्थापनको निर्णय : गगन र विश्व पाँच वर्षका लागि पार्टीबाट निष्कासित
काठमाडौं : नेपाली कांग्रेस संस्थापन र शेखर कोइराला पक्षधरको केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई ५ वर्ष निष्कासन गर्ने निर्णय गरेको छ।
बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई समेत कारबाहीको निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन निर्देशन दिएको छ।
केन्द्रीय समिती बैठकको निर्णय सार्वजनिक गर्दै कार्यवाहक सभापती पूर्णबहादुर खड्काले गगन र विश्वसहितलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको सार्वजनिक गरेका थिए।
देउवा पक्षबाट कारबाहीमा परेपछि महामन्त्री थापाले भृकुटीमण्डपको बन्द सत्रको हलमा महाधिवेशन प्रतिनिधीहरुलाई कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताउँदै भने "कसैले हटायौँ भनेर हट्ने होइन।"
उनले अब निर्वाचन मार्फत नयाँ कार्यसमिती निर्वाचित गर्ने र सम्भव भए सर्वसम्मत गर्ने बताएका थिए। गगन र विश्वलाई पार्टीले निस्कासन गरेको निर्णयपछि भृकुटीमण्डपको माहोल उत्तेजित भएको छ। महाधिवेशन प्रतिनिधीहरुले पार्टी संस्थापनको विपक्षमा नारा लगाएका छन्।
पुष ३०, २०८२ बुधबार १६:३७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।