इरानलाई ट्रम्पको चेतावनी- ‘होस पुर्याएर व्यवहार गर’
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै ‘होस पुर्याएर व्यवहार गर्न’ भनेका छन्।
मंगलबार एक पत्रकार सम्मेलनमा ‘यदि अमेरिकाले आक्रमण गरे इरानले पनि जवाफ दिनेछ भनिएको छ नि?’ भन्ने प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।
जवाफमा ट्रम्पले भने, ‘हो, इरानले अघिल्लो पटक पनि यही भनेको थियो। त्यतिबेला मैले उनीहरूको परमाणु भट्टीहरू उडाइदिएको थिएँ, जुन अब उनीहरूसँग छैन। त्यसैले उनीहरूले सही व्यवहार गर्नुपर्छ।’
अमेरिकी राष्ट्रपतिले इरानमा जारी विरोध प्रदर्शन र त्यहाँका नागरिकहरूप्रति पनि टिप्पणी गरेका छन् । उनले इरानमा आफूले लोकतन्त्र देख्न चाहेको बताए।
‘हामी मानिसहरूको हत्या होस् भन्ने चाहँदैनौँ, हामी उनीहरूका लागि स्वतन्त्रता चाहन्छौँ,’ ट्रम्पले भने, ‘ती मानिसहरू लामो समयदेखि नर्कमा बाँचिरहेका छन्।’
इरानको विगत सम्झँदै ट्रम्पले थपे, ‘मेरा केही साथीहरूले पहिले त्यहाँ लगानी गर्ने गर्थे र राम्रो नाफा पनि कमाएका थिए। त्यो एक उत्कृष्ट ठाउँ थियो, मानिसहरू राम्रा थिए र नेतृत्व पनि राम्रो थियो। तर, अहिले त्यहाँको अवस्था नर्कमा बसे जस्तै छ।’
इरानमा गत डिसेम्बर २८ देखि लगातार विरोध प्रदर्शन भइरहेका छन्। महँगी र बिग्रँदो अर्थतन्त्रको मुद्दालाई लिएर सुरू भएको प्रदर्शन हाल हिंसात्मक बनेको छ। मानवअधिकारवादी संगठनहरूले यी प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको दाबी गरेका छन्।
पुष ३०, २०८२ बुधबार ०८:१९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।