इरानमा इन्टरनेट बन्द भएपछि एलन मस्कको ‘स्टारलिंक’ सेवा निःशुल्क

इरानमा इन्टरनेट बन्द भएपछि एलन मस्कको ‘स्टारलिंक’ सेवा निःशुल्क

एजेन्सी : इरानमा जारी विरोध प्रदर्शनका कारण सरकारले इन्टरनेट सेवा बन्द गरेपछि एलन मस्कको कम्पनी ‘स्टारलिंक’ले त्यहाँका नागरिकका लागि आफ्नो स्याटेलाइट इन्टरनेट सेवा निःशुल्क गरिदिएको छ।

बीबीसी फारसी सेवाका अनुसार, सरकारी प्रतिबन्धका कारण सञ्चार सम्पर्क विच्छेदको अवस्थामा रहेका इरानी नागरिकका लागि बाहिरी दुनियाँसँग जोडिने माध्यमका रूपमा अहिले स्टारलिंक मात्र विकल्प बनेको छ।

विगत केही दिनदेखि इरानमा जारी प्रदर्शनका कारण इन्टरनेट सेवा ठप्प छ। यस्तो अवस्थामा स्टारलिंकले आफ्नो सेवा निःशुल्क गरेको हो।

एक अनुमानअनुसार इरानमा हाल कम्तीमा ५० हजार स्टारलिंक रिसिभरहरू भित्रिइसकेका छन्, यद्यपि तीमध्ये कति सक्रिय छन् भन्ने यकिन तथ्याङ्क भने छैन।

इरान सरकारले भने देश भित्र स्टारलिंकको प्रयोगलाई गैरकानुनी एवं अपराध घोषित गरेको छ।

पछिल्ला रिपोर्टहरूका अनुसार इरानी सरकारी एजेन्टहरूले स्टारलिंक रिसिभर राख्ने व्यक्तिहरूको खोजी गरी कारबाही प्रक्रिया अगाडि बढाएका छन्।

यसका अलावा इरानवायरमा प्रकशित एक समाचार अनुसार स्टारलिंकको इन्टरनेटमा प्रतिबन्ध लगाउने प्रविधि पनि इरानले प्रयोग गर्दै आइसकेको छ।

पहिला यो प्रविधिले २० प्रतिशत मात्र इन्टरनेट कटौती गरे पनि अहिले ९० प्रतिशत स्टारलिंकको सिग्नल कटौती भइसकेको उसको दाबी छ। 

स्टारलिंकको इन्टरनेट सेवा प्रयोग गर्नका लागि प्रयोगकर्तालाई एन्टेनासहितको एक विशेष ‘रिसिभिङ डिभाइस’ आवश्यक पर्दछ।

पुष ३०, २०८२ बुधबार ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।