पदका लागि विशेष महाधिवेशन नगरिएको प्रस्ट्याउँदै स्पष्ट गगनले भने : यो विद्रोह हो
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई पद नचाहिएको बताएका छन्।
कांगेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रको दोस्रो दिन मंगलबार सम्बोधन गर्दै उनले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पारे।
थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैले पाउनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा विद्रोह भएको धारणा राखे। “यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो,” उनले भने।
थापाले पार्टीभित्र गुटभन्दा पनि गिरोह बढ्दै गएको भन्दै पार्टीलाई बदल्न जरुरी रहेको उल्लेख गरे। उनले बाहिरको हल्लाको पछि नलाग्नसमेत सबैलाई आग्रह गरे।
“अहिले बाहिर अनेक हल्ला चलाइएको छ, कोही भागबण्डाका लागि भनिएको छ, म हल्लाको पछि लागेको छैन, तपाईंहरू पनि नलाग्नुस्,” उनले भने, “यो हलको म्याण्डेटलाई हामी सबैले मान्नुपर्छ। बाहिर हुने कुनै सहमतिलाई पनि यो हलले अपनत्व लिएपछि मात्रै अगाडि बढ्छ।” थापाले पार्टीको विशेष महाधिवेशनलाई उपलब्धिपूर्वक ढङ्गले टुङ्ग्याउनुपर्ने बताए।
पुष २९, २०८२ मंगलबार २०:४४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।