गगन र विश्वको प्रतिवेदन पारित गर्दै सकियो बन्द सत्र, बुधवार बिहान ८ बजेबाट निर्वाचनको प्रक्रिया
काठमाडौं : बुधवार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सकिएको छ। बन्द सत्रले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन संशोधनसहित पारित गर्यो। संशोधित प्रस्तावमा दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने लगायतका प्रावधानहरू समावेश छन्।
बन्द सत्रको समापनमा बोल्दै महामन्त्री गगन थापाले सहमतिका लागि छलफलहरू भइरहेको तर अफवाह फैलाउने काम भएको भन्दै महाधिवेशनको हल बाहिरबाट कुनै पनि सहमति नहुने र विशेष महाधिवेशनको म्यान्डेट अनुसार नीति र नेतृत्व दुवै बदलेर जाने बताएका थिए।
गगनको सम्बोधनपछि हलमा दुवै महामन्त्रीको संशोधित प्रस्ताव पढेर सुनाएपछि महाधिवेशन प्रतिनिधिहरूले ताली बजाएर पारित गरेका थिए। महाधिवेशनको बन्द सत्र सकिएको घोषणासँगै भोली बुधवार बिहान ८ बजेबाट निर्वाचनको प्रक्रिया अगाडि बढ्ने घोषणा गरियो।
उता सहमतिमा लागि विशेष महाधिवेशनका प्रतिनिधि, शेरबहादुर देउवा र शेखर कोइरालाका प्रतिनिधीहरुबीच त्रिपक्षीय छलफल रोकिएको छ। छलफल पार्टी सभापतिबाट देउवाको राजीनामा गएर अड्किएको हो। विशेष महाधिवेशनको तर्फबाट छलफलमा सहभागीहरूले देउवाले नेतृत्व छाडेर अन्तरिम नेतृत्व चयन हुनुपर्ने सर्त राखेपछि उच्च तहमा छलफल गर्ने भन्दै देउवा र शेखर समूह बाहिरिएका थिए।
पुष २९, २०८२ मंगलबार १९:३०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।