भूपेन्द्र बडुवाल हत्या : नवीन रावलसहित ६ जनालाई 'आजीवन' कारावास, ७ जनाले पाए सफाइ

भूपेन्द्र बडुवाल हत्या : नवीन रावलसहित ६ जनालाई 'आजीवन' कारावास, ७ जनाले पाए सफाइ

धनगढी : कैलालीको टीकापुरमा भएको भूपेन्द्र बडुवाल हत्या मुद्दामा जिल्ला अदालत कैलालीले मुख्य योजनाकार मानिएका नवीन रावलसहित ६ जनालाई बाँचुन्जेल (आजीवन) जन्मकैदको फैसला सुनाएको छ।

अदालतले हत्यामा संलग्नताको प्रकृति हेरेर प्रतिवादीहरूलाई तीन श्रेणीमा विभाजन गरी सजाय तोकेको हो। क्रूरतापूर्वक हत्या गरेको ठहर गर्दै इजलासले नवीन रावल, आर्यन देवकोटा, रोशनबहादुर शाही, अर्नुज भनिने चिरञ्जीवी शाही, रोहित आले र हिमाल शाहीलाई बाँचुन्जेल कारावासको सजाय सुनाइएको छ।

अन्य ७ जना प्रतिवादीहरू हेमन्त शाही, मदन शाही, दीपेन्द्र शाही, निशान्त मल्ल, सोहन शाह, लोकेन्द्र कुँवर र समिरजंग शाहीलाई जन्मकैदको फैसला भएको छ।

अशोक रावल, महेश रावल, जयेन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास शेरचन थकाली र कपिल श्रेष्ठले भने अदालतबाट सफाइ पाएका छन्। फरार रहेका एक प्रतिवादी लोकेन्द्रजंग शाहीको मुद्दा भने मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी दिए।

१५ लाख क्षतिपूर्तिको आदेश

अदालतले कसुर ठहर भएका १३ जना प्रतिवादीहरूबाट पीडित परिवारलाई संयुक्त रूपमा १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ। यो रकम दामासाहीका आधारमा उनीहरूले बुझाउनुपर्नेछ। साथै, जनही २ हजार ८ सय रुपैयाँका दरले पीडित राहत कोषमा रकम जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ।

घटनाको पृष्ठभूमि

२०७८ कात्तिक २३ मा लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडूवालको टीकापुरमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। प्रहरी अनुसन्धानका अनुसार जयन्द्र शाह र नवीन रावलको समूहबीचको आपसी मनमुटाब र ग्याङ फाइटका कारण बडूवालको ज्यान गएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले २६ फागुन २०७८ मा २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। झन्डै दुई वर्षको कानुनी प्रक्रियापछि अदालतले यो फैसला सुनाएको हो।

पुष २९, २०८२ मंगलबार १८:२८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।