कांग्रेस विशेष महाधिवेशन : मतदानको समय सर्यो, साढे ७ बजेसम्म उम्मेदवारी दर्ता
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान मात्रै मतदान हुने भएको छ। निर्वाचन समितिले कार्यतालिका परिमार्जन गर्दै मतदान प्रक्रियालाई भोलि बिहानका लागि सारेको हो।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार मंगलबार उम्मेदवारी दर्ताको प्रक्रिया सम्पन्न गरिने छ। उनका अनुसार मंगलबार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। समितिले उम्मेदवारीका लागि तोकिएको समयमा कुनै थपघट नहुने स्पष्ट पारेको छ।
यसअघि सार्वजनिक गरिएको कार्यतालिका अनुसार मंगलबार नै मतदान सुरु हुने भनिएको थियो। निर्वाचन समितिले अब मतदानसहितको नयाँ परिमार्जित कार्यतालिका केही समयमै सार्वजनिक गर्ने तयारी गरेको छ।
पुष २९, २०८२ मंगलबार १८:०६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।