नेकपाका २४९९ केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त २४ सय ९९ जना केन्द्रीय सदस्यहरूले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायत १९ वटा वामपन्थी दल, समूहहरू मिलेर बनेको एकीकृत पार्टीको केन्द्रीय समिति समायोजन भएपछि शपथ ग्रहण गराइएको हो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमा पहिले पार्टीका ९६ वर्षीय ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईँले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। त्यसलगत्तै संयोजक प्रचण्डले उपस्थित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्।
काठमाडौं उपत्यकामा उपलब्ध नभएका र बाहिर रहेका केन्द्रीय सदस्यहरूले भने ‘भर्चुअल’ माध्यमबाट शपथ लिएका थिए। गत कात्तिक तेस्रो साता तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूबीच पार्टी एकताको घोषणा भए पनि सांगठनिक समायोजन बाँकी थियो।
मंगलबार साना-ठूला गरी १९ दलका नेताहरूलाई समेट्दै २४९९ सदस्यीय ‘जम्बो’ केन्द्रीय समितिले पूर्णता पायो। नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै कम्युनिष्ट दलहरूको सबैभन्दा ठूलो केन्द्रीय कमिटीमध्ये एक बनेको छ।

शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै पार्टी संयोजक प्रचण्डले पार्टी एकतालाई अझै विस्तार गर्दै लगिने बताए। उनले भने, “हामी गर्वका साथ एक ठाउँमा उभिएका छौं। यो एकतालाई अझै बढाउँदै विशाल बनाइनेछ र बृहत् वाम एकता कायम गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।”

पुष २९, २०८२ मंगलबार १४:५८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।