एक्लो-१ : प्रदीपको पारिश्रमिक ५० लाख, कुल व्यापार ४३ लाख!

एक्लो-१ : प्रदीपको पारिश्रमिक ५० लाख, कुल व्यापार ४३ लाख!

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा कुनै बेला यस्तो समय थियो, पोस्टरमा प्रदीप खड्काको अनुहार देखिनेबित्तिकै हलमा युवतीहरूको भीड लाग्थ्यो। तर, समय सधैँ उस्तै कहाँ रहन्छ र! यसको ताजा उदाहरण प्रदीप आफैँ हुन्।

महंगो पारिश्रमिक र स्टारडमको शिखरमा रहेका प्रदीपका लागि भर्खरै रिलिज भएको फिल्म ‘एक्लो-१’ करिअरकै सबैभन्दा ठूलो धक्का दिएको छ।

गत पुस १७ गते रिलिज भएको ‘एक्लो-१’ ले प्रदर्शनको १० दिनमा बक्स अफिसमा जम्मा ४३ लाख २५ हजार ग्रस कलेक्सन गरेको रिपोर्ट बाहिरियो। फिल्मको कुल कमाइ अभिनेता प्रदीप खड्काको पारिश्रमिक बराबर पनि छैन।

बजार हल्लाअनुसार प्रदीपले यो फिल्मका लागि ५० लाख हाराहारी पारिश्रमिक बुझेका थिए। करिब ३ करोडभन्दा माथिको लागतमा बनेको फिल्मले १० दिनमा ५० लाख पनि नकमाउँदा निर्माता रन्थनिने नै भए।

फिल्मको प्रमोसन हेर्दा लाग्थ्यो- यो प्रदीप खड्काकै फिल्म हो। अमेरिकाको न्युयोर्कस्थित ‘म्युजियम अफ द मुभिङ इमेज’ मा ऐतिहासिक प्रिमियर गर्दा पनि प्रदीप नै केन्द्रमा थिए। तर, जब हलमा फिल्म लाग्यो। दर्शक अक्क न बक्क भए। फिल्ममा प्रदीपको भूमिका जम्मा ६ सिनमा सीमित थियो।

मुख्य भूमिकामा विजय लामा र अन्य कलाकार हावी हुँदा प्रदीपलाई भने केवल ‘पोस्टर ब्वाई’ बनाएर दर्शक झुक्याउने काम गरिएको छ। निर्देशक प्रदीप शाही र कार्यकारी निर्माता विनोद सुवेदीले प्रदीपको स्टारडमलाई मज्जाले ‘क्यास’ गर्न खोजे पनि दर्शकले पत्याएनन्।

‘एक्लो-१’ लाई ट्रियोलोजी अर्थात तीन भागमा बन्ने भनिएको थियो। तर, पहिलो भाग नै बक्स अफिसमा यसरी नराम्ररी पछारिएपछि अब ‘पार्ट २’ बन्ला भन्नेमा शंकै छ।

पुष २९, २०८२ मंगलबार १३:५७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।