कुशल र दीपेन्द्रले विश्वका धेरै लिगहरू खेल्न सक्छन् : सन्दीप लामिछाने
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले नेपालका युवा खेलाडीहरू कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीमा विश्वस्तरीय फ्रेन्चाइज लिगहरू खेल्न सक्ने प्रचुर सम्भावना रहेको बताएका छन्।
बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न हाल बंगलादेशमा रहेका लामिछानेले ‘द डेली स्टार’सँगको कुराकानीमा यस्तो बताएका हुन्। उनलाई नेपालबाट अबको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा को देखिन सक्छ भनेर सोधिएको प्रश्नमा उनले यी दुई खेलाडीको नाम लिएका हुन्।
‘नेपालमा धेरै प्रतिभावान खेलाडीहरू छन्। पावर हिटर र अलराउन्डरहरूको कमी छैन,’ सन्दीपले भने, ‘दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले पहिले नै विदेशी लिगहरू खेलिसकेका छन्। करण केसी पनि त्यहाँ छन्। तर, अहिले नै कसैको नाम लिनुपर्दा म कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीमा धेरै सम्भावना देख्छु।’
सन्दीपले नेपालमा क्रिकेटको विकास र क्रेज देखेर आफू उत्साहित भएको पनि बताए। भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटमा नयाँ क्रान्ति ल्याएको उनको बुझाइ छ।
‘आफ्नै लिग हुनु र त्यसमा अन्तर्राष्ट्रिय खेलाडीहरू आएर खेल्नु हाम्रो लागि ठूलो कुरा हो’, उनले भने।
यसै सिजनको बीपीएलमा ‘राजशाही वारियर्स’मा आबद्ध सन्दीपले नेपाली फ्यानहरूको माया र समर्थनले आफूलाई सधैं प्रेरित गर्ने बताए। आगामी टी-२० विश्वकपमा नेपालले ठूला टोलीहरूलाई हराएर नतिजा उल्ट्याउन सक्ने विश्वास पनि उनले व्यक्त गरे।
पुष २९, २०८२ मंगलबार १३:०१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।