पुरानो भंग गर्दै कांग्रेस विशेष महाधिवेशनद्वारा नयाँ निर्वाचन समिति गठन, संयोजकमा सीताराम केसी

पुरानो भंग गर्दै कांग्रेस विशेष महाधिवेशनद्वारा नयाँ निर्वाचन समिति गठन, संयोजकमा सीताराम केसी

काठमाडौं : भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले खम्बबहादुर खाँती नेतृत्वको पुरानो निर्वाचन समितिलाई भंग गर्दै नयाँ निर्वाचन समिति गठन गरेको छ।

विशेष महाधिवेशनको बन्दसत्रले मंगलबार डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा ५ सदस्यीय नयाँ निर्वाचन समिति गठन गरेको हो।

नयाँ निर्वाचन समितिका सदस्यहरूमा अधिवक्ताहरू अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन्।

विशेष महाधिवेशन पक्षधरले पुरानो निर्वाचन समितिले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्न नसक्ने निष्कर्ष निकाल्दै नयाँ समिति बनाएको बताएका छन्।

नवगठित समितिले महाधिवेशनको बन्दसत्रमा नीतिगत छलफल सकिएलगत्तै नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पाएको छ।

उता संस्थापन पक्षले भने यो महाधिवेशनलाई नै अवैधानिक भन्दै आएको छ। दुवै पक्षबीचको विवाद मिलाउन र निकास खोज्न अहिले बालुवाटारमा वार्ता जारी छ।

यस्तो अवस्थामा महाधिवेशन पक्षधरले भने आफ्ना गतिविधिहरूलाई निरन्तरता दिँदै निर्वाचन समिति गठन गरेर नेतृत्व परिवर्तनको सन्देश दिन खोजेको देखिन्छ।

पुष २९, २०८२ मंगलबार ११:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।