भारतको हिमाञ्चलमा आगलागी हुँदा सल्यानका एकै वडाका ९ जनाको मृत्यु, आज शोक बिदा
सल्यान : रोजगारीको सिलसिलामा भारतको हिमाञ्चल प्रदेशमा रहेका सल्यानका ९ जनाको आगलागीमा परी मृत्यु भएको छ।
उक्त दुःखद घटनापछि सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नं. २ ले मंगलबार शोक बिदा दिएको छ।
मृत्यु हुनेहरू सबै सिद्ध कुमाख गाउँपालिका-२, टाकुराका स्थायी बासिन्दा हुन्। उनीहरू रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा बस्दै आएका थिए।
गत पुस २७ गते भएको आगलागीको घटनामा परी दुई परिवारका ९ जनाको ज्यान गएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष मेक बहादुर बुढाथोकीद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
ठूलो मानवीय क्षति हुने गरी भएको उक्त घटनाको शोकमा आज (पुस २९ गते) वडा कार्यालय, वडाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय तथा सरकारी कार्यालयहरूमा बिदा दिइएको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन्।
आगलागीमा परी मृत्यु हुनेहरूको नामावली:
१. धन बहादुर वि.क.
२. कविता वि.क.
३. राधा वि.क.
४. रेनुका वि.क.
५. राजन वि.क.
६. काशिराम कामी
७. अनु वि.क.
८. टिका वि.क.
९. किरण वि.क.
पुष २९, २०८२ मंगलबार ११:१६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।