इमाडोलमा एक वृद्धको घाँटी रेटेर हत्या, तीन जना पक्राउ, कारण औँठी
काठमाडौं : ललितपुरको इमाडोलमा एक वृद्धको हत्याको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फर्निचर कारखानामा काम गर्ने भारतीय नागरिक समधाम मन्सुरसहित मोहम्मद नोमान र युसुफ अन्सारी छन्।
पुस २६ गते हराएका इलामका ८३ वर्षीय गर्जमान थापाको शव प्रहरीले इनारमा फालिएको बोरामा घाटी रेटेको अवस्थामा सोमबार फेला पार्यो। इमाडोल बस्दै आएका थापा पुस २६ दिउँसो करिब २ बजे घरबाट निस्किएका थिए।
उनी घर नफर्किएपछि परिवारले सात दोबाटो प्रहरी वृत्तमा खोजिबिनको लागि उजुरी दियो। उजुरी परेपछि खोजिबिन सुरु गरेको प्रहरीले सोमबार थापाको हत्या गरी इनारमा फालिएको अवस्थामा शव बरामद गर्यो।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी होबिन्द्र बोगटीले उकेरासँग भने, "२६ गते दिउसो २ बजेतिर घरबाट निस्किएका रहेछन्। बेलुकी घर नफर्किएपछि प्रहरीमा उजुरी पर्यो, सोहीअनुसार हामीले खोजी गर्दा इनारमा शव फेला पार्यौ।"
बोगटीका अनुसार थापालाई हत्या गर्नुको प्रमुख कारण उनले लगाएको तीन तोला सुनको औँठी रहेको खुलेको छ। "करिब ३ तोला सुनको लोभमा हत्या भएको देखिन्छ," उनले भने।
थापाको हत्या उनी नियमित जस्तो आउँजाउँ गरिरहने फर्निचर कारखानामा काम गर्ने कामदारले गरेको खुलेको छ। सूचना अधिकारी बोगटीले उकेरालाई दिएको जानकारीअनुसार हत्यामा संलग्न समधाम मन्सुरको साथमा औँठी भेटिएको र उनले थापाको हत्या गरेको स्वीकार गरे।
"भारत बिहारका समधाम मन्सुर, महम्मद नोमान र युसुफ अन्सारीलाई पक्राउ गरेका छौं। उनीहरूबाट औँठी समेत बरामद गरेका छौं," उनले भने। बोगटीका अनुसार थापा नियमित रूपमा फर्निचर कारखानामा जाने गरेको र हत्या भएको दिन पनि उनी फर्निचर कारखानामा गएका थिए। सोही मौकाछोपी उनको साथमा रहेको औँठी लुट्न हत्या गरियो।
थापा शव उनी बस्दै आएको घर नजिकै रहेको इनारमा सोमबार भेटिएको थियो। हत्या गरी शवलाई बोराले बाँधेर इनारमा फालिएको अवस्थामा शव बरामद भएको सूचना अधिकारी बोगटीले बताए। "शवलाई बोरामा हालेर पानी भएको इनारमा हालिएको अवस्थामा निकालिएको हो," उनले भने।
प्रहरीका अनुसार उनीहरूले २६ गते नै थापाको हत्या भएको र रातको करिब १२ बजेको आसपासमा इनारमा शव फालिएको बताएको छ। हत्यामा संलग्न तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको शाखा कार्यालय ललितपुर र जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार पक्राउ गरेको हो।
पुष २८, २०८२ सोमबार २२:३४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।