कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा नीति र नेतृत्वको मन्थन, देउवा निवासमा छटपटी
काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिन दुई फरक दृश्य देखिए। एकातिर महाधिवेशनको बन्द सत्रमा पार्टीको कायापलट गर्ने नीति र नेतृत्व परिवर्तनको एजेन्डामा सघन छलफल भइरहेको छ भने, अर्कोतिर संस्थापन पक्षले यसलाई 'अवैधानिक' भन्दै बहिष्कार र प्रतिवाद गरिरहेको छ।
आइतबारसम्म संस्थापन पक्षले त्यति चासो नदिएको विशेष महाधिवेशनको बन्द सत्रले जब नीतिसँगै नेतृत्व परिवर्तनको कार्यविधि पारित गर्यो तब संस्थापन पक्षका नेताहरू दुवै पक्षबीच सहमति गराउन सक्रिय भए।
उनीहरू कहिले पार्टी सभापति शेरबहादुर देउवाको भाडाको निवासमा छलफलमा जुटे, केही शेखर कोइरालाको निवासमा छलफलमा जुटे। पछि शेखर पनि देउवा निवास गएर विशेष महाधिवेशनलाई कसरी सहज रूपमा समापन गराउने भन्ने विषयमा छलफल गरे।
छलफल जसरी पनि विशेष महाधिवेशनलाई नेतृत्व चयनको चरणमा पुग्न नदिनेमा केन्द्रित भए पनि निष्कर्ष ननिस्किएपछि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेर समस्या समाधान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइयो।
यही बिचमा पार्टीको मुख्य सचिवले मंगलबार ११ बजे पार्टीको केन्द्रीय समितिको बैठक राखेका छन्। यसले सम्भव भए विशेष महाधिवेशनलाई नयाँ नेतृत्व चयनको चरणमा प्रवेश नगराई नीति महाधिवेशनको रूपमा सम्पन्न गराउने र सहमति नभए विशेष महाधिवेशनमा संलग्नहरूमाथि कार्वाहीको निर्णय गर्ने रणनीति बनेको देखिन्छ।
सोमबार के-के भयो त? अब बुँदागत।
बन्द सत्रमा के भइरहेको छ ?
सोमबार बिहान ११ बजेबाट बन्द सत्र सुरु भयो। त्यसले नीतिसँगै नेतृत्व पनि बदल्ने कार्यविधि पारित गर्यो। नीतिगत बहसका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदनहरू पेस गरे।
दुवैले प्रतिवेदन पेस गरेपछि दुवै प्रतिवेदनमाथि छलफल गर्न महाधिवेशन प्रतिनिधीहरुलाई नौ समूहमा विभाजित गरियो। सो समूहमा विधान संशोधन, सुशासन र आगामी निर्वाचनको रणनीतिका बारेमा छलफल गराइयो।
छलफलमा सहभागी अधिकांश प्रतिनिधिहरूले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै यसै महाधिवेशनबाट नेतृत्वको विकल्प खोज्नुपर्ने माग समेत उठाए। विशेष महाधिवेशन आयोजकको तर्फबाट सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेर महाधिवेशन एक दिन मंगलबार समेत थपिएको र मंगलबार निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने बताए।
संस्थापन पक्ष के गर्दैछ ?
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने यो महाधिवेशनलाई पूर्णतः उपेक्षा गरेको छ। संस्थापन पक्षले यसलाई विफल पार्न अझै विभिन्न रणनीतिहरू अपनाइरहेको छ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनलाई भेला भन्दै पार्टीको आधिकारिक निर्णय विपरीत भएकाले यसले कांग्रेसलाई विभाजनको बाटोमा लैजाने दाबी गरे। उनी प्रारम्भदेखि नै विशेष महाधिवेशन र फागुन २१ को निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न नहुने पक्षमा उभिएका नेता हुन्।
सोमबारै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अपिल जारी गरेर पार्टीलाई विभाजनतर्फ लैजाने गतिविधि नगर्न आग्रह गरे। संस्थापनइतर समूहको नेता दाबी गर्ने शेखर कोइराला सक्रिय भएर आफ्ना नेताहरूसँग छलफल गरे अनि पछि शेरबहादुर देउवासँग भेटेर पार्टी विभाजित हुनबाट रोक्न आग्रह गरे। महामन्त्रीसँग छलफल गर्न पार्टी सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई जिम्मेवारी दिइयो।
उता संस्थापन पक्षले जिल्ला-जिल्लामा सर्कुलर जारी गर्दै भेलामा सहभागी हुनेलाई अनुशासनको कारबाही हुन सक्ने चेतावनी समेत दिएको छ। यसको प्रभावले संस्थापन पक्षीय जिल्ला सभापति र केन्द्रीय सदस्यहरू भृकुटीमण्डप पुगेका छैनन्। तर महासमिति सदस्यहरू भने सहभागी भएका छन्।
विभाजित मनोविज्ञानमा कांग्रेस
विशेष महाधिवेशनमा सहभागी पक्षले ६० प्रतिशत प्रतिनिधि आफ्नो साथमा रहेको दाबी गरेको छ भने संस्थापन पक्षले यसलाई 'गुटको भेला' मात्र भनेको छ। भृकुटीमण्डपभित्र 'नयाँ कांग्रेस'को नारा गुन्जिरहँदा सानेपास्थित पार्टी कार्यालय भने सुनसान प्रायः छ।
संस्थापन पक्ष प्रारम्भबाटै विशेष महाधिवेशन हुनै नदिने प्रयासमा रहे पनि सफल भएन। जब बहुमत महासमिति सदस्यहरूसहित विशेष महाधिवेशन सुरु भयो अब यसलाई निर्वाचनबाट नयाँ नेतृत्व चयनको चरणमा जानबाट रोक्न उनीहरू सक्रिय देखिएका छन्।
पहिला पार्टी विभाजन गर्न खोजेको दाबी गर्ने संस्थापन पक्षका नेताहरू सोमबारबाट अब पार्टी कब्जा गर्न खोजेको आरोप लगाइरहेका छन्। तर विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरू भने अब नीति मात्र नभई नेतृत्व पनि बदल्नुपर्ने पक्षमा उभिएका छन्।
पुष २८, २०८२ सोमबार २०:१८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।