छोटै समयमा रीमा अवसरवादी राजनीतिमा पोख्त, समानुपातिक सांसदको लोभमा कुलमानलाई धोका
काठमाडौं : जुन दिन १८ घण्टाको लोडसेडिङ अन्त्य भयो त्यही बेलादेखि आफू कुलमान घिसिङसँग प्रभावित भएको भन्दै उज्यालो नेपाल पार्टीबाट सक्रिय राजनीतिमा आएकी अभिनेत्री रीमा विश्वकर्मा समानुपातिकबाट सांसद बन्ने पक्का देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमै बसिन्।
उज्यालो र रास्वपाबीच एकता गर्ने समझदारी भएसँगै रीमा उज्यालोको तर्फबाट रास्वपामा दलित महिलाको पहिलो नम्बरसहित समानुपातिक सूचीमा अटाइन्। समझदारी अनुसार निर्णय नभएको भन्दै उज्यालो नेपाल र रास्वपा अलग भयो। कुलमानसहितका धेरै नेताहरू उज्यालोमा फर्किए पनि रीमा भने समानुपातिक सांसदको लोभमा रास्वपामै बसिन्। उनी उज्यालोको केन्द्रीय सदस्य थिइन्।
उज्यालो नेपाल पार्टी गठन भएदेखि केन्द्रीय सदस्य बनेकी उनले उज्यालो नेपालको सबै कार्यक्रमहरूमा महत्वपूर्ण भूमिका पाउँदै आएकी थिइन्। कार्यक्रम सञ्चालिकासमेत रहेकी उनको वाककलालाई हेरेर कुलमानले उनलाई अगाडि बढाएका थिए। रीमाले पनि पार्टीका फोरम हुन् या सार्वजनिक कार्यक्रम होस् कुलमानको निकै प्रशंसा गर्थिन्।
उनी भन्थिन् "१८ घण्टे लोडसेडिङलाई हटाएर कुलमान ज्योज्योले तपाईँ र हाम्रो घरमा उज्यालो ल्याइसक्नुभयो। अब उहाँकै नेतृत्वमा उज्यालो नेपाल पार्टीमार्फत हामी देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेका छौँ।"
जब रास्वपा र उज्यालोबीच पार्टी एक गरेर जाने समझदारी भयो कुलमानले रास्वपाको समानुपातिक सूचीमा राख्न रीमासहितको नाम पठाए। अन्यको क्रमसङ्ख्या तलमाथि भए पनि रीमा भने दलित महिलातर्फ पहिलो सूचीमै परिन्। रास्वपाको पक्षमा माहोल बढ्नु अनि समानुपातिकको दलित महिलाको सूचीमा पहिलो नम्बरमा हुँदा समानुपातिकबाट सांसद बन्ने सम्भावना अधिक देखिएपछि अहिले रीमाले आफैँले अगुवा मानेका कुलमानलाई छाडेर रास्वपामै बस्ने निर्णय गरिन्।
उज्यालो नेपालका एक नेताका अनुसार रीमाले कुलमानलाई अब आफू उज्यालो नेपालमा फर्कन नसक्ने सन्देश पठाइसकेकी छिन्। कुलमानले आफू निकटहरूलाई समानुपातिक सांसदको लोभले रीमाले धोका दिएको बताउने गरेका छन्।
पुष २८, २०८२ सोमबार १८:३४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।