ट्रम्पद्वारा आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ घोषणा, ५ करोड ब्यारेल तेल अमेरिका ल्याइँदै

ट्रम्पद्वारा आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ घोषणा, ५ करोड ब्यारेल तेल अमेरिका ल्याइँदै

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्।

उनले आफ्नो आधिकारिक तस्बिर सेयर गर्दै लेखेका छन्- ‘कार्यवाहक राष्ट्रपति, भेनेजुएला, वर्तमान कार्यकाल जनवरी २०१६।’

साथै, उनले आफू संयुक्त राज्य अमेरिकाको ४५औं र ४७औं राष्ट्रपति भएको र २० जनवरी २०२५ मा पुनः पदभार सम्हालेको उल्लेख गरेका छन्।

यो घोषणा यस्तो समयमा आएको छ, जतिबेला भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको रूपमा डेल्सी रोड्रिग्वेजले शपथ लिइसकेकी छन्।

केही साताअघि अमेरिकाले भेनेजुएलामा ‘ठूलो मात्रामा’ आक्रमण गरेको थियो, जसक्रममा भेनेजुएलाका नेता निकोलस मादुरो पक्राउ परेका थिए।

मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको न्युयोर्क लगिएको छ, जहाँ उनीहरूमाथि ‘नार्को-टेररिज्म’को षड्यन्त्र गरेको आरोप लगाइएको छ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाबाट ५ करोड ब्यारेल तेल अमेरिका पठाइएको र त्यो बाटोमा रहेको बताएका छन्। यसको मूल्य करिब ४.२ अर्ब डलर रहेको उनले दाबी गरे।

ट्रम्पले भने, ‘भेनेजुएलामा अमेरिकी हित नचाहने व्यक्तिको हातमा सत्ता जान दिने जोखिम हामी मोल्न सक्दैनौँ। सुरक्षित र न्यायसंगत रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले नै भेनेजुएलाको जिम्मेवारी सम्हाल्नेछ।’

भेनेजुएलाको तेल बिक्रीबाट प्राप्त हुने रकम आफ्नो नियन्त्रणमा रहने र त्यसलाई भेनेजुएला र अमेरिकी जनताको हितमा प्रयोग गरिने ट्रम्पले बताएका छन्। उनले अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटलाई यो योजना तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘उनी राम्री छिन्। उनले ५ करोड ब्यारेल तेल लैजान सक्नुहुन्छ भनिन् र मैले हुन्छ भनेँ। हामी उनीहरूको नेतृत्वसँग मिलेर काम गरिरहेका छौँ।’

भेनेजुएलासँग करिब ३०३ अर्ब ब्यारेल तेलको भण्डार छ, जुन विश्वकै सबैभन्दा ठूलो मानिन्छ। तर, सन् २००० देखि त्यहाँको तेल उत्पादन घट्दो क्रममा छ। ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले १८ महिनाभित्र भेनेजुएलाको तेल उद्योगलाई पूर्ण रूपमा सक्रिय बनाउने दाबी गरेका छन्।

यद्यपि, विश्लेषकहरूका अनुसार भेनेजुएलाको तेल उत्पादनलाई पुरानै अवस्थामा फर्काउन अर्बौं डलर खर्च र करिब एक दशक समय लाग्न सक्छ। भेनेजुएलाको तेल ‘हेभी क्रुड’ भएकाले यसलाई प्रशोधन गर्न पनि कठिन हुन्छ। हाल भेनेजुएलामा अमेरिकी कम्पनी ‘सेभ्रोन’ ले मात्र काम गरिरहेको छ।

पुष २८, २०८२ सोमबार १२:०४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।