मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित पूर्व-पश्चिम सडकखण्डमा आइतबार ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका-७ बस्ने ४० वर्षीय सूर्यबहादुर मोक्तान रहेका छन्।

प्रहरीका अनुसार, आइतबार दिउँसो करिब १२:५५ बजे हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८९२१ नम्बरको हार्डवेयरको सामान बोकेको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानलाई सुरुमा उपचारका लागि मनहरी अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज) रिफर गरिएको थियो।

अस्पताल पुर्याएलगत्तै दिउँसो २:३५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट ६ किलोमिटर पूर्वमा भएको उक्त दुर्घटनापछि सडक अवरोध भने नभएको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक र चालकका विषयमा थप अनुसन्धान गरिरहेको छ।

पुष २८, २०८२ सोमबार ११:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।