त्रिशूलीमा भेटिएको बसको अवशेष निकाल्ने प्रयास जारी, सिमलताल पहिरोमा बगेको ‘गणपति डिलक्स’ भएको आशंका

त्रिशूलीमा भेटिएको बसको अवशेष निकाल्ने प्रयास जारी, सिमलताल पहिरोमा बगेको ‘गणपति डिलक्स’ भएको आशंका

दमौली : तनहुँको आबुँखैरेनी गाउँपालिका-५ दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा भेटिएको बसको अवशेष निकाल्न आज (सोमबार) पनि उत्खनन कार्य जारी राखिएको छ।

आइतबार बिहान १०ः४५ बजे नदी किनारमा बसको अगाडिको केही भाग बालुवामा पुरिएको अवस्थामा फेला परेको थियो।

त्यसलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दिनभर उत्खनन गरेको थियो। आज पनि सोही कार्यलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार उक्त बस गत असार २८ गते चितवनको भरतपुर-२९ स्थित सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएको ‘गणपति डिलक्स’ हुन सक्ने अनुमान गरिएको छ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको उक्त बस पहिरोले बगाएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले भने, ‘बसको केही भाग देखिए पनि पूर्ण रूपमा यकिन गर्न अझै बाँकी छ। अहिले उत्खनन र थप अनुसन्धान भइरहेको छ।’

घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट र आबुँखैरेनीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले उत्खनन र सुरक्षाको काम गरिरहेको छ।

पुष २८, २०८२ सोमबार ०७:३१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।