प्रतिनिधिसभा निर्वाचन : समानुपातिक उम्मेदवारले आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारले आज (शुक्रबार) अपराह्न ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार, राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बुझाएको बन्दसूचीमा समावेश भएका उम्मेदवारले तोकिएको समयभित्र नाम फिर्ता लिन पाउने व्यवस्था गरिएको हो।
निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार, उम्मेदवारहरूले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा 'प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२' को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।
कुनै कारणवश सम्बन्धित उम्मेदवार स्वयं उपस्थित हुन नसकेको खण्डमा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने आयोगले जनाएको छ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ।
पुष २८, २०८२ सोमबार ०७:२०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।