गगनले भने " विशेष महाधिवेशनको हलले गर्ने निर्णय मान्न म पनि बाध्य छु"

गगनले भने

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा कोही ठूलो र कोही सानो नहुने भन्दै सदस्य वा सभापति बनेको जिम्मेवारी मात्र रहेको बताए। उनले पार्टीलाई सुध्रनु पर्छ, बदलिनु पर्छ, तिमिहरूको नीति ठिक छैन भनेकाले अब कांग्रेस अडिएर पछाडि फर्किएर हेर्नुपर्ने बताए।

उनले पार्टीका नेताहरू चुकेकाले कसरी चुक भयो एक ठाउँमा बसेर छलफल गर भनेको त्यही आग्रह अनुसार विशेष महाधिवेशनको आयोजना गरिएको बताइ। थापाले शेरबहादुर देउवालाई पार्टी सभापति बनाएको र आफूलाई महामन्त्री बनाएका महासमिति सदस्यहरूको आग्रह नमानेर विशेष महाधिवेशन नगर्नु भनेको विधिको अपमान भएको बताए।

"गल्ती कहाँ भयो फर्किएर हेर्नुपर्छ। हिजो कांग्रेसको एक आव्हानमा सेनाको ट्याङ्कसँग लड्न तयार हुनेहरूको छोराछोरी आज किन रिसाए? यो शक्ति र सत्ताको संघर्ष हैन विधिको संघर्ष हो।"

उनले तल बस्ने सदस्यहरूलाई मञ्चमा बस्ने नेताहरूले झुकेर नमस्कार गर्दै जय नेपाल भनेर सम्मान गर्नुपर्ने भन्दै पार्टीका सदस्य कसैको दास नभएको बताए।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र कहाँ गएर टुङ्गिन्छ भन्ने आफूले भन्न नसक्ने बताए। उनले यो महाधिवेशन पार्टीका कार्यकर्ताहरूले मागेको र उनीहरूले नीति पनि बदल्ने र नेतृत्व पनि बदल्ने भनेका छन् भन्दै यसले गर्ने निर्णयबारे आफू जानकार नभएको र बन्द सत्रले जे भन्छ त्यो आफूले मान्ने र अन्यले पनि मान्नुपर्ने बताए।

"यो महाधिवेशन केन्द्रले बोलाएको भए महामन्त्रीको रूपमा यसको अजेण्डा के हो भनेर म भन्न सक्थेँ। तर यो केन्द्रले हैन, महाधिवेशन प्रतिनिधिहरूले बोलाएको हो। म पनि अतिथि मात्र हो। हलले जे निर्णय गर्छ त्यो मैले मान्नै पर्छ।"

उनले कांग्रेस दास र लासहरूको पार्टी नभएर ज्युँदो मान्छेहरूको पार्टी भएको भन्दै भने "यहाँ कोही दास छैन। यहाँ प्रश्न मरिसकेको छैन।"

पुष २७, २०८२ आइतबार १८:४०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।