महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा पार्टीको ‘विशेष महाधिवेशन’को उद्घाटन गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा आइतबार आयोजित एक भव्य समारोहबीच महामन्त्रीद्वयले दीप प्रज्वलन गरी महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।
कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहे पनि संस्थापन पक्षले भने कार्यक्रमलाई पूर्ण रूपमा बहिष्कार गरेको छ। सभापति शेरबहादुर देउवा लगायत उनको समूहका नेता उद्घाटन समारोहमा सहभागी भएनन्।
उद्घाटनका लागि सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई ल्याउन बिहानदेखि विशेष महाधिवेशन पक्षधरले कसरत गरेको थियो। उद्घाटनअघि ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ कार्यकर्ताहरुले विशेष महाधिवेशनको पक्षमा नारा लगाउँदै र्याली निकालेका थिए।
काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा सहमहामन्त्री फरमूल्लाह मंसुर, नेताहरू चन्द्र भण्डारी, पूर्वसभामुख तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य र ओमकारप्रसाद श्रेष्ठ लगायतको उपस्थिति छ। देशभरका विभिन्न जिल्लाबाट आएका जिल्ला सभापतिहरूको समेत उपस्थिति रहेको छ।
पुष २७, २०८२ आइतबार १४:२४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।