कांग्रेसको विशेष महाधिवेशन आजदेखि : काठमाडौंका सभापतिको अध्यक्षतामा उद्घाटन, संस्थापन पक्षको बहिष्कार
काठमाडौं : आन्तरिक विवादका बीच नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। संस्थापन पक्षको असहमति र बहिष्कारका बाबजुद महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा महाधिवेशन हुन लागेको हो।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस महाधिवेशनले कांग्रेसलाई नयाँ सिराबाट अघि बढाउने वा विभाजनको संघारमा पुर्याउने भन्ने बहस भइरहेको छ। विशेष महाधिवेशनले पार्टीभित्रको समीकरणमा ठूलो हलचल ल्याएको छ। विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय भएको छ।
त्यसअघि बिहान ८ बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता सुरु हुँदैछ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार, प्रतिनिधिहरूले १ हजार रुपैयाँ शुल्क, परिचय खुल्ने कागजात र फोटो बुझाएर नाम दर्ता गराउनुपर्नेछ। दर्ता लगत्तै प्रतिनिधिहरूलाई झोला र खानाको कुपन उपलब्ध गराइनेछ।
उद्घाटन पूर्व काठमाडौंका सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपन्डोल गरी ५ स्थानबाट निस्कने जुलुस भृकुटीमण्डपमा मिसिनेछ। विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन्। यसका पछाडि ऐतिहासिक कारण रहेको आयोजकले जनाएको छ।
वि.सं. २०१४ सालमा मोरङमा भएको कांग्रेसको पहिलो विशेष महाधिवेशनको अध्यक्षता तत्कालीन मोरङ सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए। सोही नजिर पछ्याउँदै यस पटक आयोजक जिल्ला काठमाडौंका सभापतिलाई अध्यक्षता दिइएको हो।
आयोजक पक्षले पार्टी विधानको धारा १७ (२) बमोजिम १४औँ महाधिवेशनका ५४ प्रतिशत (२,४८८ जना) प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन आह्वान गरिएको दाबी गरेको छ। महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवालाई पनि निमन्त्रणा पठाएका थिए। तर, देउवाले उक्त निम्तो अस्वीकार गर्दै महाधिवेशनमा सहभागी नहुने स्पष्ट पारिसकेका छन्।
देउवा अनुपस्थित हुने भएपछि महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्ने सम्भावना रहेको छ। अन्य राजनीतिक दलका नेताहरूलाई भने निम्तो दिइएको छैन।
महाधिवेशनका लागि भृकुटीमण्डपमा ५० जना अतिथि अटाउने मञ्च र ६ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिले जनाएको छ। देशभरबाट ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेको आयोजकको दाबी छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार, बागबजार र ठमेल क्षेत्रमा तीन हजार ६०० प्रतिनिधिको आवास व्यवस्था मिलाइएको छ।
पुष २७, २०८२ आइतबार ०७:५४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।