डा. प्रकाशको उपचार अनुभव : गाउँमा ‘ठूलो डाक्टर आयो’ भन्ने खबर फैलिएपछि...
काठमाडौं : चिकित्सा क्षेत्र केवल पेसा मात्र होइन, कतिपयका लागि जीवनका गहिरा चोट र तीता भोगाइहरूले कोरिदिएको एउटा पवित्र गन्तव्य पनि हो।
अस्पतालका कोरिडोरहरूमा कहिले जीवन प्राप्तिको मुस्कान भेटिन्छ त, कहिले प्रियजन गुमाउँदाको चित्कार। कहिलेकाहीँ त्यही व्यक्तिगत वियोगको जगबाट कसैले एउटा यस्तो गन्तव्यको यात्रा सुरु गर्छन्, जसले हजारौँको आँसु पुछ्ने सामर्थ्य राख्छन्।
यस्तै एउटा गहिरो पारिवारिक पीडालाई शक्तिमा बदलेर चिकित्सा क्षेत्रमा उदाएका व्यक्तित्व हुन्- डा. प्रकाश क्षेत्री। मुत्ररोग विशेषज्ञ डा. क्षेत्रीको उपचार यात्रा दुर्गम क्षेत्र जोगबुढादेखि मिर्गौला प्रत्यारोपणको शल्यक्रिया कक्षसम्म फैलिएको छ।
हाल आफ्नै जन्मथलोको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्राध्यापकका रूपमा कार्यरत डा. प्रकाशले आफ्नो दुई दशक लामो चिकित्सकीय जीवनका आरोह-अवरोह र सङ्घर्षका पाटाहरू उकेरासँग साटेका छन्।
चिकित्सा क्षेत्रमा डोर्याउने त्यो घटना
डा. प्रकाशको चिकित्सा क्षेत्रमा प्रवेश गर्नुको पछाडि एउटा गहिरो पारिवारिक पीडा लुकेको छ। कास्कीको साबिक देउराली गाविसमा जन्मिएका उनले बाल्यकालमै पारिवारिक बज्रपात झेल्नुपर्यो। उनी कक्षा ३ मा पढ्दा उनका बुबाको मिर्गौलामा गम्भीर समस्या देखियो। परीक्षणका क्रममा बुवाका दुवै मिर्गौला फेल भएको पत्ता लाग्यो। बुबा थला परे।
बुवालाई उपचारका लागि भारतको भेलौर अस्पताल पुर्याइयो। प्रकाशकी फुपूले मिर्गौला दिएपछि त्यहाँ उनको मिर्गौला प्रत्यारोपण गरियो। आर्थिक अवस्था कमजोर भएकाले गाउँलेको सहयोग र चन्दा संकलनबाट बुवाको उपचार गरियो। तर, यो पारिवारिक खुसी धेरै समय टिक्न सकेन।
बुवाको स्वास्थ्यमा पुनः समस्या देखिन थाल्यो। अन्ततः प्रकाश कक्षा ९ मा पढ्दा बुवाको निधन भयो। कलिलो उमेरमा बुवा गुमाउनुको पीडा र बिरामी पर्दा बुवाले भोगेको सास्तीले प्रकाशको बालमस्तिष्कमा गहिरो प्रभाव पार्यो। यही भोगाइले उनमा डाक्टर बनेर बिरामीहरूको सेवा गर्ने अठोट जगायो।
शैक्षिक यात्रा र सेवा अनुभव
बुवाको निधनपछि आर्थिक र मानसिक चुनौतीका बीच पनि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए। पोखराको अमरसिंह माध्यमिक विद्यालयबाट २०५० सालमा एसएलसी र पृथ्वीनारायण क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरे।
त्यसपछि एमबीबीएस अध्ययनका लागि उनी बेलारुसको भितेब्सक स्टेट मेडिकल युनिभर्सिटी पुगे। सन् २००४ मा एमबीबीएस पूरा गरी नेपाल फर्किएका उनले पोखराको तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे। इन्टर्नसिप सकेपछि उनले केही समय मेडिकल अधिकृतको रूपमा काम गरे।
डा. प्रकाशलाई सरकारी जागिर राखे इच्छा थियो। २०६४ सालमा उनले लोकसेवा दिए। त्यहिबेला उनी सातौँ तहको मेडिकल अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरे। उनको पहिलो पदस्थापन सुदूरपश्चिमको दुर्गम डडेलधुरास्थित जोगबुढा प्राथमिक स्वास्थ्य केन्द्रमा भयो। सुगममा हुर्किएका र विदेशमा पढेका डाक्टरका लागि जोगबुढाको बसाइ सुरुमा सहज थिएन।
जोगबुढा स्वास्थ्य केन्द्रमा पुग्ने उनी पहिलो चिकित्सक थिए। सुरुका दिनहरू निकै कष्टकर रहे। सञ्चारको असुविधा, इन्टरनेटको अभाव र स्थानीय भाषा बुझ्न हुने कठिनाइले उनलाई केही समय निराश तुल्यायो। स्थानीय भाषा नबुझ्दा स्वास्थ्यकर्मीको सहयोग लिनुपर्थ्यो। तर, बिस्तारै उनले स्थानीय भाषा बुझ्न थाले र बिरामीहरूको विश्वास जित्न थाले।
त्यहाँ 'अहेब'हरूलाई सानो डाक्टरका रूपमा चिनिन्थ्यो। उनी पुगेपछि 'ठूलो डाक्टर आएको' भनेर गाउँ गाउँमा खबर फैलियो। बिरामीको चाप यति बढ्यो कि उनले बिदाको दिनमा समेत फुर्सद पाएनन्। त्यहाँ उनले एक्स-रे मेसिन जडान गरी उपचार सेवालाई थप प्रभावकारी बनाए।
जोगबुढामा १६ महिनाको सेवापछि उनी डडेलधुरा जिल्ला अस्पतालमा सरुवा भए र त्यहाँ पनि कुशलतापूर्वक सेवा प्रदान गरे।
विशेषज्ञता र उच्च शिक्षा
प्रकाशमा थप अध्ययनको चाहना थियो। सेवाकै क्रममा उनले स्नातकोत्तर (एमएस) गर्ने निर्णय गरे। छनोट परीक्षामा नाम निकालेपछि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज क्याम्पसबाट 'जनरल सर्जरी'मा एमएस सकेपछि उनी पुनः डडेलधुरा नै फर्किए।
त्यसपछि उनले सेती अञ्चल अस्पतालमा करिब डेढ वर्ष सेवा गरे। सेतीमा रहँदा उनले गरिब बिरामीहरूको उपचारमा व्यक्तिगत रूपमा समेत आर्थिक सहयोग गरे। त्यहाँबाट उनी सरुवा भएर कास्कीको पोखरास्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आए। पोखरामा करिब एक वर्ष काम गरेपछि उनमा थप अध्ययनको चाहना बढ्यो।
चिकित्सा क्षेत्रमा आएको नयाँ प्रविधि र विशिष्टीकरणको आवश्यकता महसुस गरी उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा मूत्र रोग (युरोलोजी) विषयमा 'एमसीएच' (विद्यावारिधि सरहको उपाधि) हासिल गरे। सन् २०१९ मा अध्ययन सकेपछि उनले मिर्गौला प्रत्यारोपण सम्बन्धी थप विशेष तालिम र सीप समेत प्राप्त गरे।
मिर्गौला प्रत्यारोपणको नेतृत्व
पढाइ सकेपछि सरकारले उनलाई पुनः पोखरा पठायो। पोखराको सो पश्चिमाञ्चल उपक्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भयो। हाल उनी त्यही सह-प्राध्यापकका रूपमा कार्यभार सम्हाली रहेका छन्।
उनले त्यहाँको स्वास्थ्य सेवामा आमूल परिवर्तन ल्याउने प्रयास गरिरहेका छन्। विशेषगरी उनकै नेतृत्वमा पोखरामा मिर्गौला प्रत्यारोपण सेवाको सफल सुरुवात भएको छ, जुन गण्डकी प्रदेशकै लागि एक ठूलो उपलब्धि हो।
उनको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै स्वास्थ्य मन्त्रालयले उनलाई 'उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार' बाट सम्मानित गरिसकेको छ।
डा. प्रकाशको दैनिक कार्यतालिका निकै व्यस्त छ। बिरामीको जाँच, जटिल शल्यक्रिया, विद्यार्थीहरूलाई अध्यापन र वैज्ञानिक अनुसन्धानमै उनको समय बित्छ। तर, प्रत्येक बिरामीको उपचार गर्दा उनी आफ्नो बाल्यकालमा बुबाले भोगेको दुःख सम्झन्छन्।
उनी भन्छन्, "म प्रत्येक बिरामीमा आफ्नै अभिभावकको छवि देख्छु र उनीहरूले बुवाले जस्तो दुःख पाउनु नपरोस् भन्नेमा सचेत रहन्छु।" उनको अबको मुख्य उद्देश्य पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राम्रो मिर्गौला उपचार र प्रत्यारोपण केन्द्रका रूपमा विकास गर्नु हो।
पुष २७, २०८२ आइतबार ००:००:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।