घरघरमा उज्यालो ल्याएँ, अब देशको मुहार फेर्छु : कुलमान घिसिङ
काठमाडौं : कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष चयन भएका छन्। शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफूले पार्टीको साधारण सदस्यता लिएको र केन्द्रीय समितिको बैठकले आफूलाई अध्यक्षको जिम्मेवारी दिएको बताए।
अध्यक्षको जिम्मेवारी सम्हालेपछि घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने उद्घोष गरे।
उनले भने, ‘मैले आज उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु। आजै उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकले मलाई अध्यक्षमा चयन गरेको छ। अब यो उज्यालो नेपाल पार्टीलाई मेरो नेतृत्वमा देशव्यापीरुपमा प्रभावकारीरुपमा अगाडि बढाउने छु।’
विद्युत प्राधिकरणमा रहँदा आफूले गरेको कामको स्मरण गराउँदै घिसिङले जनताले एक चोटि अवसर दिए घरघर उज्यालो पुर्याएजस्तै देशको मुहार फेर्ने पनि दाबी गरे। आफूले १०५ वर्षमा हुन नसकेको काम ८ वर्षमा गरेर देखाएको दाबी गर्दै उनले राजनीतिमा पनि त्यस्तै परिवर्तन ल्याउने बताए।
उनले भने, ‘मैले आम नेपाली जनतालाई उज्यालो दिने, हरेक घरमा बत्ती पुर्याउने काम गरेँ। त्यो कठिन काम थियो। १०५ वर्षमा हुन नसकेको काम ८ वर्षमै गरेँ। सधैँ घाटामा भएको संस्थालाई नाफामा ल्याएँ। नेपाललाई बिजुली आयात गर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुर्याएँ।’
आगामी निर्वाचनमा आफ्नो पार्टीलाई सहयोग गर्न आह्वान गर्दै उनले थपे, ‘हामी १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं, एक चोटि चान्स दिनुस्।’ उनले आफूले मौका पाए देशलाई भ्रष्टाचारमुक्त बनाएर समृद्धिको मार्गमा लैजाने दाबी गरे। घिसिङले उज्यालो नेपाल पार्टीलाई समावेशी शक्तिका रूपमा स्थापित गर्ने बताए।
पुष २६, २०८२ शनिबार १९:१९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।