पदको बार्गेनिङ नगरेको दाबी गर्दै कुलमानले भने- रास्वपाले एकपक्षीय रूपमा सहमति तोड्यो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकपक्षीय रूपमा सहमति तोडेको आरोप लगाउँदै कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले रास्वपासँगको एकता प्रक्रिया भंग गरेको छ। पुस १४ गते भएको सहमतिलाई रास्वपाले १२ दिनसम्म वार्तामा अल्झाएर अन्त्य एकता तोडेको उज्यालो नेपालको दाबी छ।
अब आफ्नै अस्तित्व र चुनाव चिह्नका साथ जनतामा जाने उसले घोषणा गर्यो। शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले रास्वपासँगको एकता प्रयास अन्त्य गर्ने निर्णय गरेको थियो। सोही बैठकबाट घिसिङ पार्टी अध्यक्ष बनेका छन्। निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत भएपछि घिसिङले पार्टीको कमान सम्हालेका हुन्।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले रास्वपाले आफूहरूलाई १२ दिनसम्म वार्तामा अल्झाएर अन्त्यमा धोका दिएको बताए। रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच भएको सहमति कार्यान्वयन गराउन आफूहरू अन्तिम समयसम्म प्रयासरत रहे पनि रास्वपाले बेवास्ता गरेको उनको आरोप छ।
"मैले पदको बार्गेनिङ गरेको थिइनँ। म स्वयं साधारण सदस्य भएर बस्न तयार थिएँ। केन्द्रीय समितिका साथीहरूलाई समायोजन गरौं भनेको थिएँ," घिसिङले भने, "तर रास्वपाले हामीलाई वार्तामा 'इन्गेज' गराएर ठाउँ-ठाउँमा पार्टी प्रवेशका कार्यक्रमहरू चलायो। अन्ततः एकपक्षीय रूपमा सहमति भंग भएको घोषणा गर्यो। यो १२ दिन हाम्रा शुभेच्छुकहरूका लागि अत्यन्तै पीडादायी रह्यो।"
उनले संविधानका आधारभूत विषयमा पूरक सम्झौता गरौंभन्दा समेत रास्वपा तयार नभएको र जेनजी आन्दोलनले चाहेको नयाँ शक्ति निर्माणको अभियानलाई रास्वपाले सम्बोधन गर्न नसकेको उल्लेख गरे।
एकता प्रक्रिया भंग भएसँगै उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नै चुनाव चिह्न 'बलेको चिम' लिएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। सो पार्टीले अब देशभर संगठन विस्तारलाई तीव्रता दिने जनाएको छ। शनिबार नै पार्टीको साधारण सदस्यता लिएर अध्यक्षको जिम्मेवारी सम्हालेका घिसिङले अबको राजनीति विकास र सुशासनको एजेन्डामा केन्द्रित हुने दाबी गरे।
पुष २६, २०८२ शनिबार १८:५७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।