रास्वपासँगको एकता प्रक्रिया भङ्ग, कुलमान घिसिङ बने उज्यालो नेपालको अध्यक्ष

रास्वपासँगको एकता प्रक्रिया भङ्ग, कुलमान घिसिङ बने उज्यालो नेपालको अध्यक्ष

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएपछि उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई पार्टी अध्यक्ष बनाएको छ।

रास्वपासँगको संवाद र सहमति अन्त्य भएको घोषणासँगै उज्यालो नेपालले नेतृत्व परिवर्तन गरेको हो। पार्टी प्रवक्ता डा. राजु थापाका अनुसार केन्द्रीय समितिको आकस्मिक बैठकले घिसिङलाई अध्यक्षको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगमा दल दर्ता गर्दा अनुपकुमार उपाध्याय अध्यक्ष रहेका थिए।

पार्टीले घिसिङलाई अध्यक्ष नियुक्त गरेको औपचारिक जानकारी दिन शनिबार साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ। रास्वपासँगको एकता भङ्ग भएपछि उज्यालो नेपाल आफ्नो सांगठनिक संरचनालाई नयाँ स्वरूपमा अघि बढाउने निर्णयमा पुगेको छ।

गत पुस १४ गते रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका तत्कालीन अध्यक्ष अनुपकुमार उपाध्यायबीच ७ बुँदे प्रारम्भिक सहमति भएको थियो। उक्त सहमति समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' र कुलमान घिसिङ स्वयं उपस्थित थिए। सहमति अनुसार घिसिङ रास्वपाको उपसभापति बन्ने तय भएको थियो।

तर, रास्वपा पक्षको दाबी अनुसार प्रारम्भिक सहमति भइसकेपछि घिसिङले पद र शक्ति बाँडफाँटमा सहमति विपरीत नयाँ सर्तहरू राखेपछि एकता प्रक्रिया अघि बढ्न सकेन। उज्यालो नेपालले भने एकता प्रक्रिया भङ्ग हुनुको कारण सार्वजनिक गरिसकेको छैन। तर, एकता प्रक्रियालाई अन्तिम रूप दिन भन्दै अन्तरिम सरकारमा मन्त्री रहेका घिसिङले बिहीबार मात्र पदबाट राजीनामा दिएका थिए।  

पुष २६, २०८२ शनिबार १७:११:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।