रास्वपा र उज्यालो नेपालबीचको एकता भङ्ग, के विषयमा मिलेन कुरा ?

रास्वपा र उज्यालो नेपालबीचको एकता भङ्ग, के विषयमा मिलेन कुरा ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको छ। शनिबार बसेको रास्वपाको आकस्मिक सचिवालय बैठकले एकता प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको हो।

रास्वपा सचिवालय सदस्य शिशिर खनालका अनुसार, प्रारम्भिक सहमति भइसकेपछि उज्यालो नेपाल पक्षबाट सम्झौतामा नभएका विषयहरू उठान हुन थालेपछि बैठकले एकता प्रक्रिया रोक्ने निर्णय गरेको हो। पद, मर्यादाक्रम र शक्ति बाँडफाँटका विषयमा उज्यालो नेपाल पक्षबाट दिनहुँ नयाँ माग थपिएको रास्वपाको भनाई छ। 

"एकताको कुरा अघि बढेपछि हरेक दिन नयाँ कुरा आउन थाले। पार्टीको नाम नै फेर्नुपर्नेसम्मका प्रस्ताव आए, जुन प्रारम्भिक सम्झौतामा थिएनन्," खनालले भने, "त्यसैले हामी एकता अगाडि नबढाउने निष्कर्षमा पुगेका हौं।"

महासचिवसहितका थप पदाधिकारी, केन्द्रीय समितिमा उल्लेख्य उपस्थिति र समानुपातिक सिटको सुनिश्चितता जस्ता विषयमा अत्यधिक बार्गेनिङ हुन थालेपछि रास्वपा पछि हटेको भनिएको छ। शनिबारको भर्चुअल बैठकमा रास्वपा सभापति रवि लामिछानेले एकता भंग हुनुको कारणबारे सचिवालय सदस्यहरूलाई ब्रिफिङ गरेका थिए। 

लामिछानेका अनुसार, बालेन शाहसँग सहकार्यको वातावरण सहज बने पनि घिसिङसँग पदकै विषयमा कुरा मिल्न सकेन। रास्वपाका एक नेताका अनुसार तीन मुख्य नेताबीच कार्यविभाजनको स्पष्ट खाका प्रस्ताव गरिएको थियो। जसमा रवि लामिछानेले पार्टी हाँक्ने, बालेन शाहले सरकारको नेतृत्व गर्ने र कुलमान घिसिङले आफ्नो विज्ञता अनुसार भौतिक पूर्वाधार तथा विकास निर्माणको जिम्मा लिने प्रस्ताव थियो।

तर, घिसिङले उक्त जिम्मेवारीमा चित्त नबुझाई आफ्नो पदीय हैसियत र गुटगत व्यवस्थापनमा मात्र जोड दिएपछि एकता प्रक्रिया टुंगिएको रास्वपाको आरोप छ। 

पुष २६, २०८२ शनिबार १६:५७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।