देउवा र खड्कालाई विशेष महाधिवेशनको निम्तो

देउवा र खड्कालाई विशेष महाधिवेशनको निम्तो

काठमाडौं : नेपाली कांगेसको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन समितिले पार्टीका शीर्ष नेतृत्वलाई सहभागिताको निम्तो बुझाएको छ। 

पुस २७ र २८ गते (भोलि र पर्सी) काठमाडौंमा हुने ‘दोस्रो विशेष महाधिवेशन’को आयोजकले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनको प्रमुख आतिथ्यता र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशिष्ट अतिथिको निम्तो दिएको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यले जानकारी दिए।

कांग्रेसले विशेष महाधिवेशनका लागि 'बदलिएको समयको कांग्रेसको लागि, बदल्न पर्ने देशको लागि' भन्ने मूल नारा तय गरेको छ। समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको नीति, संगठन र नेतृत्वलाई जनभावनाअनुरूप थप सुदृढ र गतिशील बनाउने उद्देश्यले विशेष महाधिवेशन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

व्यवस्थापन सचिवालयले यो महाधिवेशनलाई पार्टीभित्रको वैचारिक स्पष्टता र संगठनात्मक पुनर्जागरणको महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ। महाधिवेशनको समुद्घाटन समारोह पुस २७ गते दिउँसो साढे १२ बजे प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुनेछ। दुई दिनसम्म चल्ने महाधिवेशनमा देशभरका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ। 

पुष २६, २०८२ शनिबार १५:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।