सिनेमाले कोट्याइरहेको द्वन्द्वको घाउ : ‘पोलिटिकल ह्याङओभर’ कि कथाको माग?

सिनेमाले कोट्याइरहेको द्वन्द्वको घाउ :  ‘पोलिटिकल ह्याङओभर’ कि कथाको माग?

काठमाडौं : भनिन्छ- सिनेमा समाजको ऐना हो। यही ऐनामा हेर्दा नेपाली फिल्मकर्मीहरूले आफ्ना भोगाइ, बुझाइ र दृष्टिकोणलाई पर्दामा उतार्ने प्रयास गरेका छन्।

२००७ सालको क्रान्तिदेखि २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन हुँदै २०५२ सालमा सुरू भएको माओवादी सशस्त्र द्वन्द्वका कथालाई नेपाली सिनेमाले विभिन्न कालखण्डमा समेट्दै आएको छ।

विशेषतः २०६२/६३ को जनआन्दोलनपछि नेपाली फिल्म निर्माणमा एउटा स्पष्ट ‘प्याटर्न’ देखिन थालेको छ- त्यो हो माओवादी सशस्त्र द्वन्द्वको विषयवस्तु।

तत्कालीन माओवादी विद्रोही र राज्यपक्षबीचको १० वर्षे द्वन्द्व, त्यसले समाजमा पारेको प्रभाव, गाउँलेको भोगाइ, र शान्ति प्रक्रियापछिका जटिलताहरूलाई धेरै फिल्मले आफ्नो कथा बनाएका छन्।

केही फिल्मका लागि यो मूल कथा बनेको छ भने केहीमा यो केवल एउटा सहायक कथाका रूपमा मात्र आएको छ।

पछिल्लो एक दशकमा निर्माण भएका ‘कालोपोथी’, ‘सेतो सूर्य’, ‘टलकजंग भर्सेस टुल्के’देखि हालै प्रदर्शनमा आएका ‘मुगलान’ र ‘जारी २’ सम्म आइपुग्दा यो प्रवृत्ति अझ झाँगिएको देखिन्छ। कतै कथाले नै द्वन्द्व मागेको छ त, कतै जबर्जस्ती घुसाइएको छ।

आखिर किन नेपाली फिल्ममेकरहरू बारम्बार द्वन्द्वकालीन घटनाहरूमा फर्कन्छन्? यो इतिहासप्रतिको इमानदारिता हो वा केवल बजारिया आकर्षण? यहाँ हामी केही प्रतिनिधि फिल्महरू र तिनले पस्किएका द्वन्द्वका कथाहरूको चिरफार गर्दैछौं:

‘मुगलान’ र ‘जारी २’मा सन्दर्भ बिनाको सन्दर्भ
पुस १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मुगलान’ले ३० वर्षअघिको नेपाली समाजको हुकुमी शासन र त्यसका विरुद्धको विद्रोहलाई केन्द्रमा राखेको छ। गाउँको मुखियाको अत्याचार विरुद्ध गाउँलेहरू संगठित भएर माओवादी विद्रोही बन्ने कथा यसमा बुनिएको छ।

रातो फेटा र बन्दुकसहित लालसेनाको भेषमा निस्किएका युवाहरूले मुखियालाई जंगलमा लगेर दिने सजाय फिल्मको एउटा महत्त्वपूर्ण दृश्य हो। तर, समीक्षकहरूको नजरमा यो फिल्ममा माओवादी द्वन्द्वको प्रसङ्ग कताबाट कसरी आयो भन्ने स्पष्ट छैन।

मुखियालाई दण्डित गर्नका लागि मात्रै एउटा पात्र वा समूह खडा गरिएको जस्तो देखिन्छ, जसले द्वन्द्वको गहिराइलाई भन्दा सतही आवेगलाई बढी महत्त्व दिएको छ।

त्यस्तै, केही समयअघि प्रदर्शनमा आएको ‘जारी २ : च्याब्रङ अफ सङ’मा पनि द्वन्द्वको कथा अप्रत्याशित रूपमा प्रवेश गर्छ। निर्देशक उपेन्द्र सुब्बाले फिल्मको उत्तरार्धमा तत्कालीन शाही नेपाली सेनाले लिम्बू संस्कृतिको प्रतीक ‘च्याब्रुङ’ फुटाएको घटनालाई जोडेका छन्।

फिल्मको मूल मर्म र कथावस्तुसँग यो घटनाको तादत्म्यता कति छ भन्नेमा फिल्म निर्माण पक्ष र समीक्षकहरूमा मतभेद देखिन्छ। फिल्ममा अभिनेत्री ऋचा शर्मालाई माओवादी कमाण्डरको भूमिकामा प्रस्तुत गरिएको छ।

द्वन्द्वले गाउँका मेलापर्व बन्द गराएको, त्रासका कारण युवाहरू विदेश पलायन हुन वा शहर पस्न बाध्य भएको यथार्थलाई फिल्मले देखाउन खोजेको छ। तर, अधिकांश समीक्षकले यसलाई कथाको मूल प्रवाहभन्दा धेरै बाहिर गएको रूपमा लिएका छन्।

द्वन्द्वको घाउ र पुनर्स्थापनाको सकस: ‘सिटामोल’
राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘सिटामोल’ले भने द्वन्द्वपछिको पीडालाई अलि गहिराइमा पुगेर केलाउने प्रयास गरेको छ।

फिल्मले ‘सामन्तवाद’विरुद्ध लड्दा एउटा गोडा गुमाएका एक पूर्व माओवादी छापामारको कथा भन्छ। शान्ति प्रक्रियापछि उनी र उनको परिवारले भोग्नुपरेको चरम आर्थिक अभाव, सामाजिक बहिष्करण र राज्यको बेवास्तालाई फिल्मले मार्मिक ढंगले प्रस्तुत गरेको छ।

निर्देशक साने भन्छन्, ‘हिजो जनयुद्ध लडेर आएका, अयोग्य लडाकु वा स्वेच्छिक अवकाश लिएकाहरू आज समाजमा पुनर्स्थापना हुन कति गाह्रो भइरहेको छ भन्ने देखाउन यो कथा रोजेको हुँ। उनीहरूको शारीरिक अंगभंग भएको छ, आर्थिक अवस्था दयनीय छ, तर राज्य र पार्टीहरूले बेवास्ता गरेका छन्। यो फिल्ममार्फत मैले सरकारलाई झकझकाउन खोजेको हुँ।’

फिल्ममा श्रीमती विदेशिनु पर्ने बाध्यता र छोराले सडकमा गीत गाएर गुजारा चलाउनुपर्ने विडम्बनापूर्ण स्थितिलाई देखाइएको छ। ‘सिटामोल’ले युद्धको रोमाञ्चकतालाई भन्दा युद्धपछिको विसंगति र पीडालाई प्राथमिकता दिएको देखिन्छ।

‘पिताम्बर’ र ‘खुस्मा’मा लुकाइएको कथा र बेपत्ताका पीडा
कृषा चौलागाईंको निर्देशनमा बनेको ‘पिताम्बर’ले एक्सन जनराको आवरणमा द्वन्द्वपीडित महिलाको कथा भन्ने प्रयास गरेको छ। सुरक्षा पन्तलाई माओवादी लडाकुको भूमिकामा देखाइएको यो फिल्ममा सशस्त्र द्वन्द्वबाट पीडित युवती र धनाढ्य व्यक्तिको प्रभावको कथा समेटिएको छ।

यद्यपि, प्रदीप खड्का र सौगात मल्लको स्टारडम र एक्सनका बीच मूल कथाको मर्म कतै हराएको भान हुन्छ। समीक्षकहरूले फिल्मको सिनेमाटोग्राफीको प्रशंसा गरे पनि कथा वाचनमा अझै स्पष्टता हुन सक्ने औंल्याएका छन्।

अर्कोतर्फ, अशोक थापा मगर निर्देशित ‘खुस्मा’ले द्वन्द्वको प्रभावले गाउँबाट शहर र विदेश पलायन हुनुपरेको युवा पुस्ताको कथा भन्छ। फिल्मले तत्कालीन माओवादी विद्रोहीले युवाहरूलाई पार्टी प्रवेशमा दिने दबाब र राज्यपक्षबाट हुने धरपकडलाई चित्रण गरेको छ। फिल्मकी प्रमुख पात्र खुस्माको श्रीमान् वैदेशिक रोजगारीमा जाने क्रममा बेपत्ता हुन्छन्।

निर्देशक थापा मगर भन्छन्, ‘यो फिल्म २०५२ सालपछिको घटनामा आधारित छ। हामीले निर्दोष मान्छे कसरी राज्य र विद्रोही दुवै पक्षको चेपुवामा परे र बेपत्ता भए भन्ने देखाउन खोजेका छौं। रुकुम-रोल्पालाई केवल माओवादीको अखडाका रूपमा मात्र हेर्ने दृष्टिकोण बदल्न पनि यो फिल्म बनाएको हुँ।’

फिल्मको गीत ‘रुकुम मैकोट’को लोकप्रियताले पनि फिल्मलाई दर्शकमाझ पुर्याउन ठूलो भूमिका खेल्यो।

‘कालोपोथी’, ‘सेतो सूर्य’ र ‘टलकजंग भर्सेस टुल्के’को प्रयास
एक दशक अगाडिदेखि नै नेपाली फिल्मले द्वन्द्वलाई गम्भीर विषयका रूपमा उठाउन थालेको हो।

मीनबहादुर भामको ‘कालोपोथी’ले बाल मनोविज्ञानको आँखाबाट द्वन्द्वलाई हेर्यो। दुई बालकको मित्रता र हराएको पोथी कुखुराको खोजीको बहानामा फिल्मले सशस्त्र द्वन्द्वले गाउँको सामाजिक संरचनामा पारेको प्रभावलाई कलात्मक रूपमा प्रस्तुत गर्यो। अन्तर्राष्ट्रिय मञ्चमा समेत पुरस्कृत यो फिल्मले माओवादी बनेकी दिदीको पर्खाइमा रहेको भाइको मार्मिक कथा भनेको छ।

त्यस्तै, दीपक रौनियारको ‘सेतो सूर्य’ले शान्ति प्रक्रियापछिको संक्रमणकाल र वैचारिक मतभेदले परिवार र समाजमा ल्याएको विग्रहलाई देखायो। बुबाको अन्त्येष्टिका लागि गाउँ फर्किएको माओवादी छोरा र पुरातन सोच राख्ने दाजुबीचको द्वन्द्वमार्फत फिल्मले नेपाली समाजको यथार्थ चित्रण गरेको छ।

निश्चल बस्नेत निर्देशित र खगेन्द्र लामिछाने लिखित/अभिनित ‘टलकजंग भर्सेस टुल्के’ले द्वन्द्वको चेपुवामा परेको एक सामान्य गाउँले युवकको कथा भन्यो।

परिचयको खोजीमा हिँडेको टुल्के कसरी परिस्थितिवश कहिले माओवादी त कहिले राज्यपक्षको सुराकी बन्न पुग्छ भन्ने कथा यसमा छ। ह्युमर र सटायरको मिश्रण रहेको यो फिल्मले द्वन्द्वको समयमा सर्वसाधारणले भोग्नुपरेको सास्तीलाई जीवन्त रूपमा पस्किएको थियो।

यसैगरी, ‘वडा नम्बर ६’ले कमेडीको आवरणमा द्वन्द्वको कथा भन्यो। दीपकराज गिरी समूहको यो फिल्ममा माओवादी र सेना/प्रहरीबीचको द्वन्द्वको चपेटामा कसरी गाउँलेहरू पर्छन् र सुराकीको आरोपमा कसरी निर्दोषको ज्यान जान्छ भन्ने देखाइएको छ।

म्युजिक भिडियो र टेलिफिल्ममा पनि उस्तै छायाँ
फिल्ममा मात्र होइन, म्युजिक भिडियो र टेलिफिल्ममा पनि द्वन्द्वका कथा प्रशस्तै आएका छन्।

गायक प्रकाश सपुतको बहुचर्चित गीत ‘पीर’ले मा‌ओवादी सशस्त्र संघर्ष गरेका तर शान्ति प्रक्रियापछि उपेक्षित बनेका पूर्व लडाकुहरूको पीडालाई यति सशक्त रूपमा उठायो कि यसले राजनीतिक वृत्तमा ठूलै तरङ्ग ल्यायो।

तत्कालीन माओवादी भ्रातृ संगठनहरूले गीतमा प्रतिबन्ध लगाउन धम्की नै दिए। तर, गीतले आम मानिसको भावना बोलेको भन्दै चौतर्फी समर्थन पायो।

त्यस्तै, हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले निर्माण गरेको टेलिसिरियल ‘आधा कृष्ण’ मा पनि माओवादी सशस्त्र संघर्षको पृष्ठभूमिलाई कथाको आधार बनाइएको थियो।

प्रचण्ड र बाबुराम जस्ता नेताहरूलाई साक्षी राखेर सुरू गरिएको यो सिरियलले द्वन्द्वकालीन घटनाहरूलाई पर्दामा उतार्ने प्रयास गरेको थियो।

समीक्षकको दृष्टि: ‘पोलिटिकल ह्याङओभर’ कि बाध्यता?
फिल्म निर्देशक तथा समीक्षक प्रकाश सायमी नेपाली फिल्ममा बारम्बार दोहोरिने द्वन्द्वका कथाहरूलाई ‘वैचारिक ह्याङओभर’को संज्ञा दिन्छन्।

‘सिनेमा बनाउने मान्छेहरूमा एक किसिमको वैचारिक ह्याङओभर देखिन्छ,’ सायमी भन्छन्, ‘जो राजनीतिमा प्रत्यक्ष सामेल छैनन्, उनीहरूलाई पनि यसले छोइरहेको हुन्छ। जसरी रुसी फिल्महरूमा लेनिनको प्रभाव देखिन्थ्यो, त्यसरी नै हाम्रोमा माओवादी द्वन्द्वको प्रभाव देखिएको हो।’

सायमीको विश्लेषणमा यसको अर्को कारण इतिहासमा आफ्नो उपस्थिति जनाउने लोभ पनि हो।

‘हाम्रा धेरै चलचित्रकर्मीहरू कुनै पनि ठूला राजनीतिक आन्दोलनमा प्रत्यक्ष सहभागी थिएनन्। भोलि इतिहासले हामीलाई राजनीतिक चेत नभएको भनेर मूल्याङ्कन गर्ला कि भन्ने डरले पनि उनीहरू जबर्जस्ती राजनीतिक सन्दर्भहरू फिल्ममा घुसाउन खोज्छन्। दुलाहा-दुलहीलाई बधाई दिने सामान्य दृश्यमा पनि राजनीतिक कुरा घुसाइनु यसैको उदाहरण हो’, उनी थप्छन्।

नेपाली समाजले भोगेको १० वर्षे सशस्त्र द्वन्द्व एउटा यस्तो कालखण्ड हो, जसलाई सजिलै बिर्सन सकिँदैन। त्यसैले कला, साहित्य र सिनेमामा यसको प्रतिबिम्ब देखिनु स्वाभाविक हो।

‘कालोपोथी’, ‘सेतो सूर्य’ वा ‘टलकजंग भर्सेस टुल्के’ जस्ता फिल्मले द्वन्द्वको सामाजिक र मनोवैज्ञानिक पक्षलाई गम्भीरतापूर्वक उठाएका छन्। ‘सिटामोल’ र ‘पीर’ जस्ता सिर्जनाले युद्धपछिको निराशा र बेवास्तालाई उजागर गरेका छन्।

तर, पछिल्लो समय केही फिल्महरूमा द्वन्द्वलाई केवल कथा तन्काउने माध्यमका रूपमा मात्र प्रयोग गरिएको देखिन्छ। कथाको माग बिना जबर्जस्ती द्वन्द्वका प्रसंग घुसाउँदा फिल्मको विश्वसनीयतामाथि नै प्रश्न उठ्न सक्छ।

राजनीतिक घटनाक्रमलाई दस्तावेजीकरण गर्नु वा त्यसको सामाजिक प्रभावलाई पर्दामा उतार्नु फिल्ममेकरको दायित्व हो। तर, त्यो दायित्व निर्वाह गर्दा घटनाको गहिराइ, संवेदना र कथाको औचित्यमाथि ध्यान पुर्याउनु आवश्यक देखिन्छ।

नत्र द्वन्द्वका कथाहरू केवल बजारिया वस्तु वा समीक्षक सायमीले भने झैँ ‘पोलिटिकल ह्याङओभर’ मात्र बन्न पुग्ने जोखिम रहन्छ।

पुष २६, २०८२ शनिबार १३:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।