विवादले असर त गर्छ, तर हामीले केही नभएजस्तो नाटक गर्नुपर्छ : नजमुल हुसैन शान्तो
एजेन्सी : बंगलादेशका टेस्ट कप्तान नजमुल हुसैन शान्तोले ठूला प्रतियोगिता अघि हुने विवादले खेलाडीहरूलाई मानसिक रूपमा असर गर्ने भए पनि मैदानमा केही नभएको जस्तो ‘नाटक’ गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।
फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा बंगलादेशको सहभागितालाई लिएर उत्पन्न अन्योलका बीच शान्तोले यस्तो प्रतिक्रिया दिएका हुन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले कुनै पनि विश्वकपमा राम्रो नतिजा ल्याउन सकेका छैनौं। तर, हरेक विश्वकप अघि केही न केही घटना घट्ने गरेको छ। खेलाडीका रूपमा म भन्न सक्छु कि यसले हामीलाई असर गर्छ। तर हामी व्यावसायिक क्रिकेटर भएकाले केही नभएको जस्तो नाटक गर्छौं। यी कुराहरू हाम्रो नियन्त्रण बाहिर छन्।’
के हो विवाद?
आगामी टी-२० विश्वकप आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा बंगलादेशको सहभागिता अझै अनिश्चित बनेको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले कोलकता नाइट राइडर्सलाई बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाउन निर्देशन दिएपछि विवाद सुरु भएको हो। केकेआरले मुस्ताफिजुरलाई ९ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो।
भारत र बंगलादेशबीचको राजनीतिक मतभेदका कारण धार्मिक तथा राजनीतिक समूहहरूले केकेआरका मालिक साहरुख खानलाई धम्की दिएपछि बीसीसीआईले यस्तो कदम चालेको बुझिएको छ।
यसको प्रतिक्रिया स्वरूप बंगलादेश सरकारले बंगलादेशमा आईपीएलको प्रसारण बन्द गरिदिएको छ। साथै, बंगलादेश क्रिकेट बोर्डले सुरक्षाको कारण देखाउँदै आफ्ना टोलीले भारतमा गएर विश्वकपका खेलहरू नखेल्ने आईसीसीलाई जानकारी गराएको छ। बंगलादेशले आफ्ना खेलहरू श्रीलंकामा हुनुपर्ने माग राखेको छ।
शान्तो हालको टी-२० टोलीमा नभए पनि उनले अघिल्लो टी-२० विश्वकपमा टोलीको नेतृत्व गरेका थिए भने २०२३ को एकदिवसीय विश्वकपमा पनि सहभागी थिए।
पुष २६, २०८२ शनिबार ११:४०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।