गगन र विश्वप्रकाश अनुपस्थित कांग्रेसको आकस्मिक बैठकले के गर्यो निर्णय?

गगन र विश्वप्रकाश अनुपस्थित कांग्रेसको आकस्मिक बैठकले के गर्यो निर्णय?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अनुपस्थित भएको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक सकिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीका नेता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले स्वर्गीय दाहालले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरे।

उनले भने, ‘दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर संगठन विस्तार र लोकतन्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।’

नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत रहेका दाहालले प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा पटक-पटक जेल जीवन बिताएका थिए।

उनी वि.सं. २०५६ को निर्वाचनमा ओखलढुंगा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। साथै, उनी तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को प्रवक्ता र पूर्व कृषिमन्त्री समेत रहेका थिए।

ओखलढुंगाको रामपुरमा जन्मिएका ८४ वर्षीय दाहालको शुक्रबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो। कांग्रेसले उनको निधनबाट पार्टीले एक निष्ठावान् नेता र पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको जनाएको छ।

पुष २६, २०८२ शनिबार ११:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।