स्कटल्यान्डसँगको अभ्यास खेलमा सम्झनाको अर्धशतक, नेपाल २७ रनले पराजित
काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले स्तब्ध भएको हो।
स्कटल्यान्डले प्रस्तुत गरेको १८४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो।
बलियो प्रतिद्वन्द्वीविरुद्ध नेपालको ब्याटिङमा सम्झना खड्काले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। उनले अविजित ५२ रन बनाइन् भने कविता कुँवरले २९ र कप्तान इन्दु बर्माले २८ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै १८३ रनको योगफल तयार पारेको थियो। उसका लागि क्याथरिन ब्रिसले विष्फोटक ब्याटिङ गर्दै २८ बलमै ६२ रन बनाइन्।
बलिङतर्फ नेपालका रुबिना क्षेत्री र कविता कुँवरले २-२ विकेट लिए। यो हारले ग्लोबल छनोटमा स्कटल्यान्डसँगै खेल्नुअघि नेपाललाई सुधारको मौका दिएको छ।
पुष २५, २०८२ शुक्रबार १३:०४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।