विशेष महाधिवेशनको माग सम्बोधन गर्न देउवा पक्षीय ३० केन्द्रीय सदस्यको अपिल
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिने ३० जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्न नेतृत्वसँग अपिल गरेका छन्।
पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद बढिरहेका बेला शुक्रबार बिहान बैठक बस्दै उनीहरूले पार्टीलाई एकताबद्ध राख्न असन्तुष्ट पक्षको मागलाई सम्मान गर्नुपर्नेमा जोड दिएका हुन्।
महाधिवेशन प्रतिनिधिहरूले विधिवत रूपमा माग राखेर निवेदन दर्ता गराइसकेको अवस्थामा त्यसलाई बेवास्ता गर्न नहुने उनीहरूको ठहर छ।
नेताहरूले जारी गरेको संयुक्त अपिलपत्रमा भनिएको छ, ‘माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौँ।’
आगामी निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्रको विवादले नतिजा प्रभावित हुन सक्ने भन्दै उनीहरूले संवाद र सहमतिको बाटो रोज्न नेतृत्वलाई सुझाएका छन्।
पुष २५, २०८२ शुक्रबार १२:५२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।