फेसबुकमा फेक आइडी बनाएर ११ वर्षीया बालिकाको नग्न तस्बिर र भिडियो मागेर ब्ल्याकमेल गरेपछि...
काठमाडौं : फेसबुकमा नक्कली अकाउन्ट बनाएर नाबालिकालाई ललाईफकाई नग्न तस्बिर तथा भिडियो माग्ने र पछि सोही सामग्रीमार्फत ब्ल्याकमेल गर्दै मानसिक यातना दिने एक ३० वर्षीय युवकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार सन्दिप चन्द विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अभियोग पत्र दायर गरेको हो। सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी-१२ जुगेडा स्थायी घर भएका ३० वर्षीय चन्दमाथि ११ वर्षीया बालिकालाई अनलाइनमार्फत यौन दुर्व्यवहार र चरित्र हत्या गरेको अभियोग छ।
यसरी फसाइएको थियो बालिकालाई
अभियोग पत्रका अनुसार प्रतिवादी चन्दले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो वास्तविक पहिचान लुकाई नक्कली अकाउन्ट खोलेका थिए।
नक्कली आइडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएर कुराकानी सुरु गरेका उनले बालिकालाई ललाईफकाई विभिन्न प्रलोभनमा पारे। त्यसपछि उनले बालिकालाई डर, त्रास र धम्की दिई आफ्नो शरीरको नग्न तस्बिर र भिडियो पठाउन बाध्य पारे।
बालिकाले डराएर तस्बिर र भिडियो पठाएपछि चन्दले त्यसैलाई हतियार बनाएर थप शोषण सुरु गरेका थिए। उनले बालिकालाई ‘तेरो नग्न फोटो र भिडियो मसँग छ, तेरो छरछिमेकी तथा साथीहरूलाई पठाई तेरो चरित्र हत्या गरिदिन्छु, बाबा-ममीलाई देखाइदिन्छु’ भन्दै निरन्तर मानसिक यातना दिएका थिए।
बालिकाले कुरा गर्न अस्वीकार गर्दा वा ब्लक गर्दा चन्दले बालिकाका विद्यालयका साथीहरूलाई समेत ती अश्लील तस्बिर र भिडियोहरू पठाइदिएर चरित्र हत्या गरेको अभियोग पत्रमा उल्लेख छ।
बालिकाद्वारा आत्महत्याको प्रयास
आफ्ना नग्न तस्बिरहरू साथीहरूको म्यासेन्जरमा पुगेको र चरित्र हत्या भएको थाहा पाएपछि पीडित बालिका गम्भीर मानसिक तनावमा परेको अभियोग पत्रमा उल्लेख छ।
‘मेरो चरित्र हत्या हुने डरले मैले आत्महत्या गर्नेसम्मको प्रयास गरेकोमा मेरो मामुले थाहा पाई मलाई बचाउनु भयो’, पीडित बालिकाले बयानमा उल्लेख छ।
फेसबुकमा ब्लक भएपछि चन्दले ह्वाट्सएपको प्रयोग गरी बालिकालाई गालीगलौज गरेका थिए। उनले बालिकालाई अत्यन्तै तल्लो स्तरको, अश्लील र अपमानजनक सन्देशहरू पठाएको प्रमाण प्रहरीले फेला पारेको छ।
साइबर ब्युरोको अनुसन्धानका क्रममा चन्दले प्रयोग गरेको फेसबुक र ह्वाट्सएपको आइपी एड्रेस ट्रयाक गर्दा लोकेसन कैलालीको धनगढीमा देखिएको थियो। प्रहरीले चन्दलाई पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट अपराधमा प्रयोग भएको मोबाइल र सीम कार्ड बरामद गरेको छ।
बयानका क्रममा चन्दले ‘केटी साथीहरूसँग बोल्ने इच्छा राखी केटीकै नामबाट फेक आइडी बनाएको’ स्वीकार गरेका छन्, यद्यपि उनले अश्लील सामग्री पठाएको कुरामा भने घुमाउरो बयान दिएका थिए। तर, डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट र पीडितका साथीहरूको बयानले उनको संलग्नता पुष्टि गरेको छ।
सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा सन्दिप चन्दलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम सजायको माग गरिएको छ। यो दफाअनुसार कसुर ठहर भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित बालिकालाई पुगेको मानसिक आघात र हान नोक्सानीबापत कसुरदारबाट मनासिब क्षतिपूर्ति भराउन समेत अदालतसमक्ष माग गरिएको छ।
पुष २५, २०८२ शुक्रबार ११:४६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।