सहकारी ठगीको अभियोगबारे चितवन पुगेका रविले भने “यो व्यक्तिगत हैन, सिङ्गो देशको कुरा हो”

सहकारी ठगीको अभियोगबारे चितवन पुगेका रविले भने “यो व्यक्तिगत हैन, सिङ्गो देशको कुरा हो”

काठमाडौं : सहकारी ठगीको मुद्दामा सम्भावित बिगो स्विकारेर पुर्पक्षका लागि थुनाबाट बाहिर आएका रवि लामिछानेले सहकारी ठगीको विषय आफ्नो निजी नभएर सिङ्गो देशको भएको दाबी गरे।

रविमाथि पोखरा, काठमाडौं, चितवन र रुपन्देहीसहितका जिल्लामा सहकारीमा रहेको बचतकर्ताको रकम ठगी गरेको अभियोगमा मुद्दा दायर भएको छ। रुपन्देहीमा उनी बिगो सकारेर थुनामुक्त भएका हुन्। अन्य जिल्लामा धरौटी बुझाएर रिहा भएका हुन्।

उनले सहकारी ठगी भनेर उच्चारण गरेनन्। तर त्यसलाई राज्यले गरेको दमन भन्दै त्यसमा चित्त दुखेको तर यो निजी नभएर अब सिङ्गो देशको कुरा भएको बताए।

उनले सम्बोधनमा भदौ २३ गते नयाँ बानेश्वरमा भएको प्रदर्शनमा भएको गोली प्रहारको घटना उल्लेख गर्दै अब पुराना दललाई सत्ताधारी हैन प्रतिपक्षी दल पनि बनाउन नहुने बताए।

तर उनले भदौ २४ को घटनाबारे केही बोलेनन्। आन्दोलन चर्कँदै गएपछि रास्वपाका नेताहरू नख्खु कारागार बाहिर भेला भएर रविलाई रिहा गराएपछि देशभरका कारागारमा रहेका १५ हजार कैदी/बन्दी जेल तोडेर बाहिरिएका थिए।

यसरी भागेका ६ हजार कैदी/बन्दी अझै फर्किएका छैनन्। रविले जेनजी आन्दोलनको दुरुपयोग गरेर जेलबाट निस्किएको भन्दै जेनजी पुस्ताले सामाजिक सञ्जालमा‘एरेस्ट रवि’ अभियान चलाएपछि उनी नख्खु कारागार फर्किएका थिए। त्यसपछि उनीसँगै सिङ्गो रास्वपा नै रक्षात्मक बनेको थियो।

आफू दोषी ठहरिए बुझाउनुपर्ने सम्भावित बिगो सकारेर थुनामुक्त हुन दिएको निवेदन अनुसार उनी मुक्त भएदेखि भदौ २४ बारे बोल्ने गरेका छैनन्।

“मैले कारागारबाट भनेको थिए, यिनले मलाई जेल हाले भनेर किन चिन्ता गर्नु, जबकि सिङ्गो देशलाई यिनीहरूले जेल बनाएका छन्” उनले भने “अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने हो। यो लडाइँ बाँकी छ भने पनि लड्न कुनै आपत्ति छैन।”

उनले सम्बोधनमा आफूमाथि अझै पाँच ठाउँमा तरबार झुन्डाइएको र त्यो जुनसुकै बेला खस्न सक्ने बताए। पटक पटकको मुद्दा मामिला र झमेलाले जनतालाई गरेको कयौँ बाचाहरू पुरा गर्न नपाएको उनको दाबी थियो। 

पुष २४, २०८२ बिहीबार १९:५६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।