प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर उनीहरूबीच झण्डै तीन घण्टा छलफल भएको हो।
जेनजी आन्दोलनपश्चात् प्रधानमन्त्री कार्की र ओलीबीच पहिलो पटक बिहीबार दिउँसो एक्ला एक्लै भेटवार्ता भयो। भेटमा मुख्य गरी निर्वाचनलाई तोकिएकै समयमा मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार छलफलका क्रममा प्रधानमन्त्रीले सरकार निर्वाचन गराउने कार्यभारप्रति पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँदै दलको तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरिन्। उनले निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध र कानुनी प्रक्रियाका विषयमा सरकारले गरिरहेको तयारीबारे अध्यक्ष ओलीलाई अवगत गराइन्।
ओलीले आफ्नो पार्टी सदैव लोकतान्त्रिक प्रक्रिया र निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै सरकारले निर्वाचनको विश्वसनीय वातावरण तयार गर्नुपर्नेमा जोड दिए। उनले शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन र सबै राजनीतिक दलहरूले समानरूपमा प्रतिस्पर्धा गर्ने आधार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए। एमालेले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न रचनात्मक भूमिका निर्वाह गर्ने र कुनै पनि प्रकारका अवरोध सिर्जना नगर्ने प्रतिबद्धता उनले जनाए।
पुष २४, २०८२ बिहीबार १८:५८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।