रास्वपाको निर्देशन : आफूखुसी उम्मेदवारीको प्रचार नगर्नू
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफूखुसी उम्मेदवारी घोषणा गरी प्रचार नगर्न चेतावनी दिएको छ। आफूखुसी उम्मेदवारी घोषणा गरिएका सामग्री सामाजिक सञ्जालबाट हटाउन निर्देशन दिएको छ।
रास्वपाको 'उम्मेदवार छनोट सिफारिस उपसमिति'ले बिहीबार एक विशेष सूचना जारी गरेर प्रत्यक्षतर्फका आकाङ्क्षीहरूले औपचारिक आवेदन दिनु अगावै वा आवेदन दिइसकेपछि आफूखुसी उम्मेदवारी घोषणा र प्रचार गरिरहेकोप्रति ध्यानाकर्षण पनि जनाएको छ।
यस्ता गतिविधिले नयाँ आकाङ्क्षीहरूमा निराशा पैदा गर्ने र पार्टीको आन्तरिक लोकतन्त्रलाई समेत प्रभावित पार्ने रास्वपाको ठहर छ। सूचनामा भनिएको छ, "यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकाङ्क्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार-प्रसार कार्य तत्काल रोक्न र यसअघि राखिएका सामग्रीहरू हटाउन निर्देशन गरिन्छ।"
सूचनाअनुसार उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो इच्छा व्यक्त गर्नका लागि सादा फोटोसहित वा फोटो बिना सामाजिक सञ्जालमा 'एक पटक' मात्र पोस्ट गर्न पाउनेछन्।
सूचनाअनुसार प्राइमरी निर्वाचन सम्बन्धी आधिकारिक सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप 'भद्र, मर्यादित र सीमित' तरिकाले प्रचार-प्रसार गर्न अनुमति दिइनेछ। उपसमितिबाट जारी निर्देशनको पूर्ण पालना गर्न रास्वपाले आग्रह गरेको छ।

पुष २४, २०८२ बिहीबार १८:३८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।