बाबुको पहिचान नखुलेका सन्तानले अब आमाको नामबाटै नागरिकता पाउने

बाबुको पहिचान नखुलेका सन्तानले अब आमाको नामबाटै नागरिकता पाउने

काठमाडौं : सरकारले नागरिकता सम्बन्धी नियममा नयाँ संशोधन गरेसँगै बाबुको पहिचान नखुलेका सन्तानले सजिलै आमाको नामबाट नागरिकता पाउने भएका छन्।

मन्त्रिपरिषद्ले ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ स्वीकृत गरी राजपत्रमा प्रकाशित गरेपछि यो व्यवस्था लागू भएको हो।

यसअघि कानुनमा भए पनि व्यवहारिक रूपमा देखिएका समस्याहरूलाई फुकाउन सरकारले यो नयाँ नियम ल्याएको हो। गृह मन्त्रालयले यो नियम कार्यान्वयन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र समेत गरिसकेको छ।

नयाँ नियममा के-के सुविधा छन्?
नयाँ नियमवली अनुसार नेपाली आमाबाट जन्मिएका तर बाबुको पहिचान नभएका सन्तानले अब आमाको नामबाटै वंशज वा अंगीकृत नागरिकता पाउन सक्नेछन्। यसका लागि आमा र सन्तानले तोकिएको ढाँचामा बाबुको पहिचान नभएको भनेर स्वघोषणा गर्नुपर्नेछ।

पहिले केही विशेष खालका अंगीकृत नागरिकता लिन गृह मन्त्रालयकै निर्णय कुर्नुपर्थ्यो। अब भने जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले नै छानबिन गरी नागरिकता दिन सक्नेछन्। यसले नागरिकता लिन काठमाडौं धाउनुपर्ने बाध्यता हट्नेछ।

यस्तै, नेपाली आमाबाट विदेशमा जन्मिएका तर बाबुको ठेगान नभएका र नेपालमै बसोबास गरिरहेका व्यक्तिले पनि अब प्रक्रिया पुर्याएर नागरिकता लिन सक्नेछन्। तर उनीहरूले विदेशी नागरिकता वा राहदानी नलिएको हुनुपर्छ।

यसका अलावा नयाँ नियमले १६ वर्ष नपुगेका बालबालिकालाई 'नाबालक परिचयपत्र' दिने बाटो पनि खुलाएको छ। साथै, विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेर नागरिकता लिन खोजेमा उनको भिसाको म्याद सकिएको भए पनि नियमित बनाएर मात्र नागरिकता दिनुपर्ने व्यवस्था गरिएको छ।

यो नयाँ व्यवस्थाले वर्षौंदेखि नागरिकता नपाएर अनागरिक जस्तै बाँच्न बाध्य हजारौं व्यक्तिलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

पुष २४, २०८२ बिहीबार १३:१९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।