अब रास्वपाबाट राजनीतिमा सक्रिय हुने हो भन्ने प्रश्नको उत्तरै नदिई हिँडे कुलमान
काठमाडौं : मन्त्री पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका कुलमान घिसिङले अब आफू राजनीतिमा सक्रिय हुने बताए पनि कुन पार्टीबाट सक्रिय हुने भन्ने खुलाएनन्। राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुलमानको संरक्षकत्वमा बनेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए।
रास्वपाबाट अनुपकुमारसहित उज्यालो पार्टीबाट १४ जनाको नाम समावेश भए पनि पत्रकार सम्मेलनमा अब कुन पार्टीबाट राजनीतिमा सक्रिय हुने त्यो खुलाएनन्। उनले पत्रकार सम्मेलनमा उज्यालो अभियानमा सक्रिय हुने र आफ्नो साथीहरूको आत्मसम्मान तल पारेर कहिल्यै काम नगर्ने बताएका थिए। पत्रकार सम्मेलनमा उनले रास्वपासँग भएको सहमति कार्यान्वयन नभएको समेत बताए।
"मैले आधिकारिक रूपमा कुनै पनि पार्टीको सदस्यता लिएको छैन। सबै पार्टीमा मेरो सद्भाव रहन्छ। अब राजीनामा दिएपछि म खुल्ला भएँ" उनले भने।
अबको यात्रा उज्यालो नेपाल पार्टीबाट कि रास्वपाबाट भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रस्ट जवाफ दिएनन्। उनले भने "म अध्यक्ष पनि हुन सक्छु, उपाध्यक्ष पनि हुन सक्छु, सदस्य पनि हुन सक्छु।"
उनले एकता प्रक्रियामा जाँदा सबैको सम्मान हुनुपर्ने र स्वाभिमानसहित अगाडि बढ्ने भन्दै पछिल्लो समय रास्वपासँग बढेको दुरीको संकेत गरे। उनले रास्वपाको एकता आफूसँग नभएको र त्यो एकता उज्यालो नेपाल पार्टीसँग भएको बताए। सञ्चारकर्मीले अब रास्वपाबाट सक्रिय हुने हो कि हैन भनेर प्रश्न सोध्दा उत्तर नदिई हिँडे।
रास्वपासँग सहमतिपछि के के भयो?
समानुपातिक उम्मेदवारको सूची बुझाउने दिन कुलमान घिसिङको उज्यालो नेपाल र रास्वपाबीच भएको सहमतिमा उनलाई रास्वपाको उपसभापति बनाउने उल्लेख छ। सहमति अनुसार नै उज्यालोबाट १८ जनाको नाम पठाएकोमा रास्वपाले १४ जनाको नाम मात्र समानुपातिकमा राख्यो।
लगत्तै पार्टीमा छलफल नगरी एकता गरेको र पहिचानको मुद्दामा रास्वपाको अजेण्डा प्रस्ट नभएको भन्दै दलका नेताहरूले असन्तुष्टि जनाएपछि अहिलेसम्म पनि उज्यालो नेपालले रास्वपासँग एकताको औपचारिक निर्णय गरेको छैन। रास्वपाले पनि उज्यालो नेपालसँगको एकताबारे कुनै निर्णय गरेको छैन।
यो बिचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समूहबाट केन्द्रमा सदस्यहरू थपिइसकेका छन्। तर उज्यालोबाट केन्द्रीय समितिमा सदस्यहरू थपिएको छैन। बुधवार पत्रकार सम्मेलनमा कुलमानले अब रास्वपाको उपसभापतिको रूपमा अगाडि बढ्न नभनेकाले दुवै पार्टीबिच एकतामा विवाद रहेको देखियो।
पुष २३, २०८२ बुधबार २२:१९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।