ढाँट्दा बढेको आलोचनाबाट बच्न कुलमानले दिए राजीनामा
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनेगरी सहमति गरे पनि कुनै दलको सदस्य बनेको छैन भनेर ढाँटे लगत्तै आलोचना बढेपछि कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पदबाट राजीनामा दिए। उनले बुधवार बेलुका प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा पत्र बुझाएका हुन्।
उनले ऊर्जासँगै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका थिए। चुनाव गराउन बनेको नागरिक सरकारमा मन्त्रीहरू नै दलहरूमा सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्कीले उनीहरूको राजीनामा मागेकी थिइन्। प्रधानमन्त्री कार्कीले कुलमानसँगै सञ्चारमन्त्री रहेका जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ताको समेत राजीनामा मागेकी थिइन्।
सरकारमा मन्त्री बन्दा नै नेपाली कांग्रेसको क्रियशिल रहेका खरेलले आफू अहिलेसम्म कुनै दलको सदस्य नभएको भनेर ढाँट्दै हिँडेका छन्। बब्लु रास्वपाको कार्यक्रममा देखिए पनि उनी पार्टी प्रवेश गरेका छैनन्। उनी कुलमान निकट हुन्।
प्रधानमन्त्री भन्दै अन्तमा मन्त्री हुन राजी भएका कुलमान यो बिचमा भारतसँग भएको विद्युत खरिदमा ४३ करोड बढी भ्रष्टाचार गरेको विवादमा तानिएका थिए।
पुष २३, २०८२ बुधबार २१:३२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।