कांग्रेसमा विवाद चुलियो : गगन-विश्वले औपचारिक रूपमा गरे विशेष महाधिवेशनको आव्हान
काठमाडौं : नियमित र विशेष महाधिवेशनमा पार्टीभित्र तीव्र विवाद बढिरहेको बेलामा नेपाली कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमा पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन्। उनीहरूले बुधवार संयुक्त वक्तव्य जारी गर्दै विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनको आव्हान गर्दै सबै महाधिवेशन प्रतिनिधीहरुलाई सहभागी हुन भनेका छन्।
पुस अन्त्यमा तोकिएको नियमित महाधिवेशन सारेर वैशाख पुर्याएपछि उनीहरूले विशेष महाधिवेशनको तयारी गर्ने भने पनि औपचारिक रूपमा महाधिवेशनको आव्हान गरेका थिए। बुधवार दुवै जनाले संयुक्त रूपमा पार्टी विधानको धारा १७ (२) बमोजिम २२८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेकाले नीति निर्माण गर्न विशेष निर्णय लिनु अपरिहार्य भएको उल्लेख गरेका छन्।
"विशेष महाधिवेशनको माग गर्दै निवेदन पेस भएको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय थियो र हो। तसर्थ: केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गर्यौँ तर केन्द्रीय कार्यसमितिबाट यो सम्भव हुन सकेन," विज्ञप्तिमा भनिएको छ।
विधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना काँग्रेसको विधानले नगरेको र विधान बमोजिम कारण सहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान नगरेको उनीहरूको तर्क छ।
"यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समय सीमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पटक पटक राखेका हौँ" विज्ञप्तिमा भनिएको छ "बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ। पौष २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो। पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ।"
उनीहरूले विशेष महाधिवेशनको औपचारिक आव्हान गर्नु अगाडि यसको कानुनी पक्षबारे कानुनविद् र विज्ञहरूसँग छलफल गरेका थिए। बुधवार मात्रै गगनले विज्ञहरूसँग परामर्श गरेका थिए। बुधवारै महाधिवेशनको पक्षधरहरूले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्न विभिन्न उप समितिहरू गठन गरेका थिए।
उता संस्थापन पक्षधरहरूले भने मंसिर १५ मा बसेको केन्द्रीय समितिले नियमित अधिवेशन माग गरेको अवस्थामा विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गर्दै आएका छन्। तर मंसिर १५ मा बसेको बैठकले तोकेको कार्यतालिका अनुसार पुस अन्तिमसम्ममा हुनुपर्ने महाधिवेशन नहुने भएपछि केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट महाधिवेशन फागुन २१ को निर्वाचनपछि गर्ने भन्दै वैशाखमा पुर्याएका थिए।
संस्थापनले भन्यो "व्यक्तिले महाधिवेशन गर्न सक्दैनन्"
उता संस्थापन पक्षको तर्फबाट पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधवारै विज्ञप्ति निकालेर पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने र त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई अपिल गरिएको छ।
विज्ञप्तिमा २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रक्रिया अघि बढी सकेको सन्दर्भमा “विधान बमोजिम समयमै नियमित १५ औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन” गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको तर्क गरिएको छ।
पुष २३, २०८२ बुधबार १८:५८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।