टी-२० क्रिकेट विश्वकप ट्रफी बौद्धनाथमा
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुरुष टी-२० विश्वकप २०२६ को ट्रफी टुर अन्तर्गत बुधवार बौद्धनाथ स्तुपा परिसरमा ट्रफी प्रदर्शनमा राख्यो। पुस २१ मा नेपाल आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले टी–ट्वान्टी विश्वकपको ट्रफी अनावरण गरेर पछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्य क्षेत्रमा ट्रफीको प्रदर्शन गरिरहेको छ।
क्यानका अनुसार पुस २१ देखि २३ गतेसम्म नेपालमा ट्रफी टुर हुनेछ। फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–ट्वान्टी विश्वकप अघि नेपाल ल्याइएको ट्रफीको पुस २२ बिहान पोखरामा फोटो सुट तथा स्थानीयसँग कार्यक्रम र साँझ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको एनएसजेएफ स्पोर्टस् समिटमा ट्रफी प्रदर्शन गरिएको थियो।
तीन दिने ट्रफी टुरको अन्तिम दिन बुधवार दिउसो १२ देखि २ बजेसम्म बौद्धनाथ स्तुपा परिसरमा र दिउसो ४ देखि ६ बजेसम्म वसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शनी गरिँदै छ।
भारत र श्रीलङ्कामा आयोजना हुने विश्वकपमा नेपालको पनि सहभागिता रहनेछ। प्रतियोगिता अघि टुरका लागि आयोजक राष्ट्र भारत र श्रीलङ्का सहित कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी-२० विश्वकप ट्रफी पुर्याउने कार्यक्रम छ।
पुष २३, २०८२ बुधबार १६:२८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।