अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

काठमाडौं : संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि जारी हुने बी १ / बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा नयाँ नीति कार्यान्वयनमा ल्याएको हो।

नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू, जो बी १/बी२ भिसाका लागि अन्य सबै हिसाबले योग्य ठहरिए पनि उनीहरूले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको धरौटी (बन्ड) राख्नुपर्नेछ। यो नेपालका लागि समेत लागु भएको हो।

नयाँ नीति अनुसार धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले निर्धारण गर्नेछन्। भिसा बन्ड राख्नका लागि आवेदकले अमेरिकी गृह सुरक्षा विभागको फर्म  बुझाउनुपर्ने र आवेदकले अमेरिकी कोष विभागको अनलाइन भुक्तानी प्रणाली मार्फत बन्डको रकम तिर्न सहमति जनाउनुपर्ने व्यवस्था गरिएको छ। 

अधिकारीहरूले भिसा बन्ड तिरेको आधारमा भिसा स्वीकृत हुन्छ भन्ने ग्यारेन्टी नहुने स्पष्ट गरेका छन्। कन्सुलर अधिकृतको निर्देशनबिना शुल्क तिरेको अवस्थामा उक्त रकम फिर्ता नहुने पनि उल्लेख गरिएको छ।

पुष २३, २०८२ बुधबार १६:०८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।